गुल्मी अस्पतालका प्रमुख जिसीमाथि कुटपिट, अस्पतालमा तनाव
गुल्मीको तम्घास स्थित अस्पतालका डाक्टरमाथि कुटपिट भएको छ। उपचारका क्रममा रहेकी बालिकाको मृत्यु भएको विषयलाई लिएर मंगलबार अस्पताल प्रमुख डा. राजेन्द्र जिसीमाथि कुटपिट भएको हो।
चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ । बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए ।
बिरामीको जीवनरक्षाका लागि २४ सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार भएको स्वासथ्यकर्मीहरुले बताएका छन्।
अस्पतालका कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक (आकस्मिक) बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं ।’
बालिकाको मृत्यु पश्चात उत्पन्न समस्या समाधान गर्न सीडीओ टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफल भइरहेको छ।