News अपराध सुरक्षा

अप्रेशन गर्दा विरामीको किड्नी झिकेको अस्पतालले स्विकार्यो

अप्रेशन गर्दा विरामीको किड्नी झिकेको अस्पतालले स्विकार्यो

धनगढीको स्वस्तिक अस्पतालले अप्रेशन गर्दा नसा काटिएर विरामीको मृगौला निस्किएको स्विकार गरेको छ। आफनो गल्ती भएको स्वीकार गर्दै आफन्तलाई क्षतिपूर्ति दिनेसहित डाक्टरलाई कारबाही गर्ने तीन बुँदे सहमति अस्पतालले गरेको छ।

अपरेसन गर्दा त्रुटि हुँदा सोमबार सो अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी मृत्यु भएको थियो। एक लाख दिने सहमतिपछि उनको पत्थरीको अप्रेशन भएको थियो।

उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरीको समस्या देखिएको उनका आफन्तले बताए। यस्तै दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो। सो अस्पतालमा डाक्टर जोनस तिवारीले शल्यक्रिया गरेका थिए। 

त्यस दिन अपरेसन सफल भएको डाक्टरले भनेका थिए। सोही दिन बेलुका ऐजनलालको पेट दुख्न थाल्यो। दुखेको ठाउँमा सुनिएको पनि थियो। मृतक बिरामीका आफन्त रमेश चौधरीका अनुसार त्यसपछि डाक्टरले रगतको आवश्यकता भएको भन्दै व्यवस्था गर्न भनेका थिए।

अपरेसनका क्रममा किड्नीबाट रगत बग्न नरोकिएपछि समस्या आयो। डाक्टरले मिर्गौला झिक्नुपर्ने भने। बिरामी बाँच्ने भए किड्नी झिक्न पनि आफूहरू तयार भएको उनले बताए। 

त्यसपछि डाक्टरले ‘अब केही जोखिम छैन, जोखिमबाट मुक्त भयो’ भनेको केही समयपछि नै बिरामीको मृत्यु भएको थियो। मृतकका आफन्तले डाक्टरको लापरबाहीका कारण घटना भएको आरोप लगाएर आन्दोलन सुरू गरे। उनीहरूले अपरेसनमा संलग्न डाक्टरलाई कारबाहीसहित क्षतिपूर्तिको माग गरेका थिए।  

मृतकका भतिजा राजकुमारका अनुसार अस्पतालले सोमबार साँझ तीन बुदे सहमतिपछि बल्ल आफन्तले शव बुझेका थिए। मृतक ऐजनलाल चौधरीका एमबिबिएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाइ खर्च अस्पतालले व्यहोर्ने सहमति भएको छ।  

मृतकका २ छोरीहरूको विवाह खर्च र लालनपालन अस्पतालले ब्यहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर तिवारीलाई कारबाहीका लागि छानबिन गर्ने सहमति भएको छ।

विशेष