News

सीआईबीको प्रतिवेदनः महरा र उनका छोरा सुन तस्करका नाईके, तस्करसँग २५६ पटक संवाद

मुख्य योजनाकार नै अनुशन्धान वाहिर,  प्रहरीले बयान लिने हिम्मत पनि गरेन

सीआईबीको प्रतिवेदनः महरा र उनका छोरा सुन तस्करका नाईके, तस्करसँग २५६ पटक संवाद

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णवहादुर महरा र उनका छोरा राहुललाई ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको छ। 

जिल्ला सरकारी वकिल कार्यालयमा वुझाईको अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर पनि सीआईबीले उनीहरुसँग अहिलेसम्म बयान लिने हिम्मत समेत गरेको छैन। तस्करको नाईके भन्ने अनि वयान समेत नलिने गरेको पाईएपछि सरकारी वकिल कार्यालयले उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ।

विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो। ०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेका व्यक्तिहरूमाथि अनुसन्धान भएको नदेखिएको सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले बताए । उनले भने–‘हामीले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन ल्याउन भनेका छौँ ।’

सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएपनि प्रहरीले त्यसो नगरेको एकजना अधिकृतले बताए। सरकारी वकिल कार्यालयमा पेस भएको आरोपपत्रमा महरा बाबुछोराको सुन तस्करसँग टेलिफोन सम्पर्क भएको कल डिटेल रेकर्डसमेत उल्लेख भएपनि विवरण पेस भएको ४७ दिन बितिसक्दासमेत उनीहरूमाथि प्रहरीले सामान्य सोधपुछसमेत गरेको छैन ।

०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको अनुसन्धानबाट खुलिसकेको छ ।

भेप छुटाउनकै लागि चिनियाँ तस्कर वाङसँग महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेको तथ्य पनि पुष्टि भइसकेको छ । विमानस्थल भन्सार प्रमुख अरुण पोखरेललाई पनि महराले सम्पर्क गरी ‘राहुल आउँछ, हेर्दिनुहोला’ भनेको स्रोत बताउँछ । राहुललाई सुन तस्कर वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ ।

हाल फरार असिन भनिने अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार रहेका अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक फोन सम्पर्क गरेको देखिन्छ । महराले छोरा निर्मलको फोनमार्फत ११ पटक कुराकानी गरेका छन । यी सबैसहित महराका बाबुछोराले सुन तस्कर र यसको नेटवर्कमा रहेका गिरोहसँग समेत २ सय ५६ पटक संवाद गरेको प्राविधिक अनुसन्धानले पनि पुष्टि गरिसकेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सुन प्रकरण र महराका बाबुछोराको कनेक्सन खुलाइसकेको छ । सुन भएका भेप जफत गरेर भन्सारले गोदाममा राखेकामा पछि त्यहीँबाट चोरी भएको थियो । भन्सारका कर्मचारी, एजेन्टसहितको सेटिङमा सुन चोरी भएको पाइएपछि सीआईबीमार्फत यसको अनुसन्धान भएकामा चोरीमा संलग्न ९ जनामाथि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो ।

तर, सुन ल्याउने गिरोहमाथि मुद्दा दायर त परैको कुरा, अनुसन्धानसमेत हुन सकेको छैन । भेपमा सुन ल्याउने चिनियाँ गिरोहका सदस्य वाङसँग आफ्नो पुरानै सम्बन्ध रहेको र भेप प्रकरणमा पनि चिनजानका हिसाबले सहजीकरण गर्न आफूले भन्सारका कर्मचारीलाई सम्पर्क गरेको महरा स्वयंले पनि स्वीकार गरिसकेका छन ।

महराले वाङसँग फलफूल व्यापारीका रूपमा आफूले चिनेको दाबी गरेका छन। 

कृष्णवहादुर महरा सुन तस्करी

विशेष