News

ओलीले शेयर गरे माधब नेपालसँगको फोटो, तर एकै ठाउँमा बस्दा पनि बोलेनन्

ओलीले शेयर गरे माधब नेपालसँगको फोटो, तर एकै ठाउँमा बस्दा पनि बोलेनन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सम्वन्ध सुमधुर छैन। दुवै नेता एकअर्काप्रति क्रुद्ध छन्। 

भाषणमा दुवै नेता एकअर्काप्रति कटु शब्द प्रयोग गर्छन। एमाले विभाजनपछि यी दुई नेता एउटै सार्वजनिक मञ्चमा पनि खासै देखिएका छैनन्। एकअर्कासँग छलिने प्रयत्न दुवै नेताले गर्दै आएका छन्।

तर, सोमबार भने छल्दाछल्दै पनि उनीहरुको जम्काभेट भयो। एकै ठाउँमा वस्नुपर्ने अवस्था आयो। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका ओली र नेपाल सँगै भए। 

बैठक कक्षमा प्रवेश गर्नासाथ शुरूमा अध्यक्ष ओलीले कानेखुसी गरेर बोल्न खोजेको जस्तो देखिन्थ्यो। तर, नेपालले रुचि देखाएनन्। एउटै लहरमा सँगै बस्दा दुवैले असहज महसुस गरेको उनीहरूको भावभङ्गीले देखाउँथ्यो।

तर, सँगै बस्दा पनि उनीहरूले कुराकानी भने गरेनन्। यद्यपी ओलीले सँगै वसेको तस्बिर आफैँले सामाजिक सञ्जालमा सेयर गरेका छन्। माधव नेपालसँग बसेको तस्बिर सार्वजनिक गर्दै ओलीले लेखेका छन्, ‘आज बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकका तीन तस्बिर, शुभसन्ध्या।’

ओलीले सामाजिक सञ्जालमा राखेका तस्बिरमा दुवैजना हँसिलो मुद्रामा देखिन्छन्। ओली आफैँले माधव नेपालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ। 

गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष ओली गएका थिएनन्। नेपालले एकीकृत समाजवादीको छाया पर्छ भनेर ओली बैठकमा नआएको भन्दै टिप्पणी गरेका थिए। यसअघि एकीकृत समाजवादीलाई पार्टी नमानेको एमालेले उ सहभागी हुने केही बैठक समेत बहिस्कार गर्दै आएको थियो।

एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि ओली र नेपालबीच सम्बन्ध बिग्रिएको थियो। ठिक दुईवर्षअघि २०७८ भदौमा नेपाललगायतका केही नेताहरू एमालेबाट अलग भएका थिए। 
 

विशेष