राज्यका हरेक उच्च तहका वैठकमा वस्ने प्रधानमन्त्रीका छोरी र पूर्वप्रधानमन्त्रीका श्रीमतीको हैसियत के हो ?
गणतन्त्रलाई कहीँबाट खतरा छ भने त्यो हो– ४/५ जना नेता र तिनका छोराछोरी
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राज्यका हरेक उच्च तहका बैठकमा बस्ने गंगा दाहालको हैसियत के हो ? भनेर संसदमा प्रश्न उठाएका छन्। प्रधानमन्त्रीकी भएकै कारण यस्ता वैठकमा वस्ने अधिकार उनलाई कस्ले दियो भन्दै उनले प्रश्न उठाएका हुन।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् । गणतन्त्रलाई नेताको शासनमा परिणत गर्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो। यही रवैयाले गणतन्त्रमाथि नै खतरा आएको सिंहले बताए।
‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ? म प्रश्न गर्न चाहन्छु हामीले कस्तो व्यवस्था गरेका छौं ? कुनै पूर्वप्रधानमन्त्रीको श्रीमती कसरी हरेक बैठकमा बस्न पाउँछन् ?,’ उनले भने ।
त्यस्ता गतिविधिबाट व्यवस्थालाई नै खतरा रहेको सांसद सिंहको भनाइ थियो । ‘अथोरिटी विदाउट अकाउन्टिबिलिटी चलेको छ, सबैभन्दा बढी खतरा त्यहाँबाट छ । गणतन्त्रलाई कहिँबाट खतरा छ भने चार–पाँच जना नेता र उनीहरूका बच्चाहरूबाट छ,’ उनले भने, ‘जम्मै भ्रष्टाचारको जरो त्यहाँ छ ।’
मुलुकका ठूला भ्रष्टाचार काण्ड अन्तिम टुंगोमा किन पुगेनन् भनेर पनि सांसद सिंहले प्रश्न गरेका छन् । उनले वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकार इतिहासमै कमजोर रहेको विदेशी हस्तक्षेप निम्याउएर मुलुकमा धार्मिक र जातीय युद्ध निम्त्याउन उद्दत रहेको पनि बताए ।