News

सप्तरीमा चौथो पालिका प्रमुख निलम्वनको तयारीमा, बोदेबरसाईनका मेयरले बाख्राको पैसा खाए

सप्तरीमा चौथो पालिका प्रमुख निलम्वनको तयारीमा, बोदेबरसाईनका मेयरले बाख्राको पैसा खाए

सप्तरीमा चौथो पालिका प्रमुख निलम्वनको लाईनमा लागेका छन्। बाख्रापालनको अनुदानमा भ्रष्टाचार गरेको आरोपमा बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादव पनि निलम्वनको तयारीमा छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर यादव र नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम भ्रष्टाचार भएको अख्तियारको आरोप छ।

नगरपालिकाले कामै नगरी रकम भुक्तानी गरेको आरोप लगाएको छ। बोर्देबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि वडा नं ६ फुलकाहीको माँ जगदम्बा कृषक समूहसँग सम्झौता गरेको थियो । तर नक्कली बिल भर्पाई र झुटा बिल बनाएर १४ लाख ७१ हजार ९२१ रुपैयाँ नगरपालिकाले भुक्तानी गरेको अख्तियारको दाबी छ ।

मेयर यादव र वडा नं ४ का तत्कालिन वडाध्यक्ष रामानन्द चौधरी र तत्कालिन नगर कार्यपालिका सदस्य श्रीप्रसाद भगतले स्थलगत अनुगमन गरी योजनाको स्थिति राम्रो भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनका आधारमा कृषक समूहलाई भुक्तानी दिएको अख्तियारले बताएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव र लेखापाल सरोजकुमार मण्डलले नक्कली बिल भरपाइकै आधारमा भुक्तानीको टिप्पणी आदेश स्वीकृत गरेर कृषक समूहलाई भुक्तानी दिएको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले नगरपालिकाका पशुविकास अधिकृत अर्जुनप्रसाद यादव, माँ जगदम्बा कृषक समूहका अध्यक्ष राधेश्यामकुमार साह र कोषाध्यक्ष निलमकुमारी शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

९ नगरपालिकासहित १८ स्थानीय तह रहेको सप्तरीमा यसअघि ती जना पालिका प्रमुख पदमुक्त भईसकेका छन्। विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, राजविराज नगरपालिकाका मेयर भिमराज यादव र शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्ता निलम्बित छन् ।
 

विशेष