News

के नेतृत्व छोड्ने तयारीमा छन् प्रचण्ड, किन मागियो विशेष महाधिवेशन ?

के नेतृत्व छोड्ने तयारीमा छन् प्रचण्ड, किन मागियो विशेष महाधिवेशन ?

नेकपा माओवादी केन्द्रको डेढ वर्षअघि भएको महाधिवेशनबाट पुनः नेतृत्वमा चुनिएपछि पुष्पकमल दाहाल प्रचण्डले ‘सम्भवतः उमेरका कारणले पनि नेतृत्व हाँक्ने अन्तिम अवसर’ भएको उल्लेख गरेका थिए।

विगतमा एक दशक बित्दासम्म पनि महाधिवेशन नहुनु माओवादीभित्र सामान्य थियो। तर २०७८ सालको पुस तेस्रो साता भएको महाधिवेशन गरेको माओवादीले फेरि विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ।

जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव राखेको जानकारी नेता शरदसिंह भण्डारीले दिए। ‘तीन महिना विधान अधिवेशन र त्यसको तीन महिनामा विशेष महाधिवेशनको निम्ति खटेर ठूलो पार्टी बनाउन २०८४ को आम चुनावको अभियानमा लाग्नुपर्छ भन्नुभएको छ’ नेता भण्डारीले भने।

पार्टी एकीकरणसँग महाधिवेशनको सम्बन्ध
डेढ वर्षअघि माओवादीले राष्ट्रिय सम्मेलनको तयारी गरेको थियो। तर निर्वाचन आयोगबाट वैधानिकता पाउने लगायतका प्राविधिक कारण देखाउँदै त्यसलाई अन्तिम समयमा महाधिवेशनमा परिणत गरिएको थियो।

माओवादी नेताहरूका अनुसार त्यही बेला प्रचण्डले अपूर्ण कामहरू विशेष महाधिवेशनबाट गर्ने कुरा उस बेला प्रचण्डले नै राखेका थिए। प्रचण्ड अहिले समाजवादी मोर्चाभित्र र बाहिरका अन्य पार्टीसँग एकीकरण गर्ने प्रयासमा देखिन्छन्।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक 
माओवादी नेताहरू मोर्चामा रहेका माधव नेपाल र नेत्रविक्रम चन्दको दल र बाहिर रहेका बाबुराम भट्टराईको पार्टी पनि एकीकरणमा आउनेमा बढी आशावादी देखिन्छन्।

प्रस्तावित विशेष महाधिवेशन त्यही सम्भावित एकताप्रति लक्षित रहेको कतिपयको ठम्याइ पाइन्छ। तर माओवादी नेता रामदीप आचार्यले भने, “एकीकरणप्रति लक्षित छैन, तर समाजवादी मोर्चा र विचार मिल्नेसँग पार्टी एकताको कुरा बैठकको अजेन्डामा पनि छ।”

तीन दशकभन्दा लामो समय पार्टी नेतृत्व गरेका प्रचण्डकै अगुवाइमा माओवादीले नेपालमा १० वर्ष लामो सशस्त्र विद्रोह सञ्चालन गरेको थियो।

नेतृत्व हस्तान्तरण गर्ने प्रचण्डको ‘सर्त’
शान्ति प्रक्रियामा आइसकेपछि माओवादीमा नेतृत्व परिवर्तन बलियो मुद्दा बन्न सकेको देखिँदैन। तर पछिल्ला केही वर्ष नेतृत्व विकास र परिवर्तनको पक्षमा नेताहरू बैठकमा खुल्न थालेको पाइन्छ। जारी बैठकको पहिलो दिन केन्द्रीय सदस्य गोविन्द रोकाले सबै तहका समितिहरू निर्वाचित हुनुपर्ने भन्दै उमेर हद लागु गर्नुपर्ने माग राखेका थिए।

उनले भनेका थिए, “हरेक तहको पार्टी कमिटीको मुख्य नेतृत्वमा लगातार दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्छ।’ नेता आचार्यका अनुसार सङ्गठनलाई चुस्त दुरुस्त राख्न विधान अधिवेशन केन्द्रित हुने र त्यही विधान लागु गर्न विशेष महाधिवेशन गर्ने माओवादीको योजना हो।

उनले सबै तहका समितिहरू निर्वाचनबाट चयन गर्ने कुरा उठेको जनाउँदै नेतृत्व परिवर्तनको कुरा असम्भव नरहेको बताए। त्यसको निम्ति अध्यक्ष प्रचण्ड पनि तयार रहेको उनको दाबी छ।

“हिजो (बुधवार) उहाँले जीवनको उत्तरार्धमा छु, सरकारमा पनि राम्रो काम गरिरहेको छु, पार्टीलाई पनि लयमा ल्याएर विधिबमोजिम चल्ने पार्टी बनाएर नेतृत्व हस्तान्तर गर्ने मेरो चाहना छ भन्नुभयो’ आचार्यले सुनाए।

तर प्रचण्डले कसैलाई अध्यक्ष बनाउँछु भन्ने घोषणा नगरेको र कसैले अध्यक्ष बन्ने दाबी पनि नगरेको उनको भनाइ छ। कम्युनिस्ट पार्टीमा नेतृत्व विकास गर्ने परम्परालाई महत्व दिइन्छ। हेटौँडामा १० वर्षअघि भएको महाधिवेशनबाट त्यसबारे चर्चा चलेको थियो।

विप्लवको चर्चाले निम्त्याएको आशङ्का
डेढ वर्षअघिको महाधिवेशनमा महासचिवको दाबेदार वर्षमान पुन र जनार्दन शर्मालाई हेरिएको थियो। तर प्रचण्डले देव गुरुङलाई त्यो जिम्मेवारी दिए।

पुरानो नेता हुनुका साथै अध्यक्ष बन्ने कमजोर सम्भावना देखेर गुरुङको चयनप्रति ठूलो असन्तुष्टि नदेखिएको माओवादी नेताहरू बताउँछन्। प्रचण्डले अहिले नेत्रविक्रम चन्द विप्लवसँग एकीकरण गरेर उनलाई महासचिव बनाउने सङ्केतपछि उक्त दलमा तरङ्ग उत्पन्न भएको छ।

द्वन्द्वकालमा माओवादी राजनीतिमा संलग्न रहिसकेका राजनीतिक विश्लेषक मुमाराम खनालका बुझाइमा त्यो चर्चाबाट प्रचण्ड निकटस्थहरू पनि असन्तुष्ट छन् र त्यसले विवाद पार्टीको तल्लो तहसम्म पु¥याइदिएको छ।

उनले भने, “त्यही असन्तुष्टि सम्बोधन गर्न विशेष महाधिवेशन गर्ने भनिए पनि होला जस्तो लाग्दैन। समाजवादी मोर्चालाई एकीकरणसम्म पु¥याउन सकेमा भने हुनसक्छ।”

आफ्नो पार्टीको नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध अभियान चलाएको प्रचार गर्दै समाजवादी मोर्चासहितका दलसँग एकीकरण गरेर चुनावमा लाभ लिन सकिने आशा माओवादी नेताहरूमा पाइन्छ।

त्यो अवस्था आयो भने पनि प्रचण्डले आफ्नो कार्यकालको बीचमै महाधिवेशन गर्लान् भन्नेमा अविश्वास गर्नेहरू पनि छन्।

‘तर नेतृत्व छाड्दैनन् प्रचण्ड’
तर विश्लेषक खनाल त्यस्तो बेला प्रचण्डले पार्टीको नाम परिवर्तन र नीति तथा कार्यक्रमहरूमा छलफल गर्न महाधिवेशन गर्न सक्ने ठान्छन्।

त्यस्तो अवस्थामा एकीकरणबाट आउने अन्य नेताहरूका निम्ति पनि प्रचण्ड नै साझा र स्वीकार्य बन्ने सम्भावनाका कारण नेतृत्व परिवर्तन कमजोर रहेको कतिपयको आकलन पाइन्छ।

त्यो सम्भावनाबारे खनाल भन्छन्, “दाहालले आफूले सक्दासम्म त्यो पार्टीमा अरूको नेतृत्व स्वीकार गर्ने कुरा त कल्पना पनि गर्न सकिँदैन।”

उनका भनाइमा प्रचण्डले पार्टीको ढाँचा ‘आफू नहुनेबित्तिकै चल्न नसक्ने खालको’ बनाएका छन्। विश्लेषक खनालले भने, “कुनैकुनै गाई–भैँसीले एक जनालाई मात्रै दूध दिन्छ, अरूलाई दिन्न, लात्तीले हान्छ। उहाँले पनि माओवादी पार्टी त्यस्तै, आफूबाहेक अर्को आयो भने चलाउनै नसकिने बनाउनुभएको छ।”

प्रचण्डले चाहेका व्यक्ति मात्र उनको नजिक पुग्न सक्नेगरी आफूले जे चाह्यो त्यही हुने गरी पार्टी बनाएको खनालको टिप्पणी छ।

तर माओवादी नेता रामदीप आचार्य सबै तहमा निर्वाचित समितिहरू बनाउने कुरा उठेको बताउँदै भन्छन्, “पार्टी सामूहिक नेतृत्वको प्रणालीमा चल्छ, सैद्धान्तिक रूपमा जहिले पनि नेतृत्वको विकल्प रहिरहन्छ।”
यो सामग्री बीबीसीबाट साभार गरिएको हो।

विशेष