News

सीआईबीले सुन तस्करसँगको मिलेमतो पुष्टि गर्दा पनि महरा भन्छन्ः राजनीतिक पूर्वाग्रह देखियो

सीआईबीले सुन तस्करसँगको मिलेमतो पुष्टि गर्दा पनि महरा भन्छन्ः राजनीतिक पूर्वाग्रह देखियो

प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी)ले सुन तस्करीमा पूर्व सभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता देखिएको प्रतिवेदन बुझाई सक्दा पनि महराले भने सुन प्रकरणमा आफ्नो नाम जोड्नु राजनीतिक पूर्वाग्रह भएको बताएका छन्।

बिहीबार पार्टीको केन्द्रीय समितिको बैठकस्थलबाहिर निस्कने क्रममा महराले यस्तो बताएका हुन्। सुन प्रकरणका विषयमा आफूले विज्ञप्ति जारी गरेको र सामाजिक सञ्जालमार्फत् पनि प्रष्ट पारिसकेको उनको भनाइ छ। 

सीआईबीको प्रतिवेदनले महराको संलग्नता खुले पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले ढाकछोप गरेको खुलेको छ । गृहमन्त्री श्रेष्ठले महरा बाबुछोरालाई जोगाएर तस्करीमा संलग्न अन्य नौ अभियुक्तविरुद्ध मात्र मुद्दा अघि बढाउन निर्देशन दिएको प्रहरी स्रोतको दाबी छ।

पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले जफत गरेको नौ किलो ११.५२४ ग्राम सुन छुटाउन महरा र उनका छोरा राहुलले शक्तिको दुरूपयोग गरेका थिए । भन्सार कर्मचारीले जफत गरिएको सुन छाड्न नमानेपछि अस्वाभाविक रूपमा लिलाम गराएर विमानस्थलबाटै बेचबिखन गरिएको थियो ।    

इलेक्ट्रिक सिगरेट (भेप)भित्र लुकाएर ल्याइएको साढे ८ करोड रुपैयाँको वरावरको सुन ल्याउने चिनियाँ नागरिक ली हानसङसँग महरा बाबुछोराको सम्पर्क देखिएको र सुन पक्राउ परेपछि छुटाउन अस्वाभाविक रूपमा भन्सार अधिकारीहरूलाई दबाब दिएको प्रहरी अनुसन्धानमा खुलेको हो।

तस्करीमा संलग्नहरूलाई सहयोग पुग्नेगरी महरा बाबुछोराले विमानस्थल भन्सारका उच्च अधिकारीलाई पटकपटक फोन गरेको कल रेकर्ड प्रतिवेदनसहित सीआईबीले प्रतिवेदन बुझाएको थियो । 

सुन ल्याउने र भन्सारमा रोकिएपछि त्यहीँबाट बेच्ने सञ्जालमा महरा बाबुछोरा संलग्न रहेको सीआईबी प्रतिवेदनले किटान गरे पनि गृहमन्त्री श्रेष्ठले उनीहरूलाई जोगाएका थिए । अहिले उनी स्वयम पनि निर्धक्कसँग राजनीतिक पुर्वाग्रह राखिएको वताउन थालेका छन्।

सीआईबीले कल डिटेल रेकर्ड प्रतिवेदनअनुसार सुन ल्याउने समूहमा रहेका चाइनिज नागरिक लुई, दाओजिन वाङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने र राहुल महराबीच बारम्बार सम्पर्क देखाएको खुलाएको छ । त्यस्तै, कृष्णबहादुर महरा र भन्सार कर्मचारी मुक्तिप्रसाद श्रेष्ठबीच यसै विषयमा सम्पर्क भएको भन्दै प्रतिवेदनमा भनिएको छ। 

सुन तस्करी

विशेष