News

गोरु बचाउन जाँदा बाघले कान्छालालकै ज्यान लियो

गोरु बचाउन जाँदा बाघले कान्छालालकै ज्यान लियो

बाघको आक्रमणमा परी पर्सामा एक जनाको मृत्यु भएको छ। ठोरी गाउँपालिका– ५ सुवर्णपुरका ५० वर्षीय कान्छालाल दोङको मृत्यु भएको हो।

उनको शव घर नजिकको बारीमा बुधबार राति फेला परेको थियो । बारीमा बाँधेका गोरु हेर्न घरबाट बुधबार बिहान करिब ११ बजे निस्किएका कान्छालाल फर्किएर नआएपछि परिवारले खोजतलास सुरु गरेको थियो।

इलाका प्रहरी कार्यालय ठोरीका इन्स्पेक्ट सन्तोष राईका अनुसार एउटा गोरु बाँधेको किलोसहित घर आएको थियो । बारीमा गएर हेर्दा अर्को गोरु बाघको आक्रममा परी घाइते अवस्थामा भेटियो।

त्यसपछि अनिष्टको आशंकासहित खोजी गर्दा ५० मिटरको दुरीमा खाल्डोमा कान्छालालको शव भेटिएको प्रहरीले जनाएको छ। गोरुलाई आक्रमण गर्न थालेपछि बाघलाई धपाउन जाँदा दोङलाई नै बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ।

उनको गाला, घाँटी, टाउको, हात लगायत शरीरका विभिन्न स्थानमा बाघको नङ्ग्रा गाडिएको निसान छ। घटनास्थलबाट उत्तरमा रहेको पर्सा राष्ट्रिय निकुन्जबाट आएको बाघले आक्रमण गरेर कान्छालालको ज्यान लिएको अनुमान प्रहरीको छ। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्ज पठाइएको छ। 

विशेष