नेपाली भूमी भारतीय नक्सामा देखाएको विरोधमा बालेन्द्र रद्द गरे चीन भ्रमण
पछिल्लो पटक चीनले सार्वजनिक गरेको आफनो नक्सा प्रति असहमति जनाउँदै काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले चीन भ्रमण रद्द गरेका छन्।
चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेन्द्र बेइजिङतर्फ जाने तय भएको थियो । तर चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।
‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’, सामाजिक सञ्जालमा बालेनले लेखेका छन् ।
नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो।
नयाँ नक्सामा भारतले पनि असहमति जनाएको छ। अरुणाचल प्रदेश, अक्साई चीन र भारतका कैयौँ भूभागलाई चीनले नयाँ नक्सामा आफ्नो सीमामा राखेको भन्दै भारतले कडा आपत्ति जनाएको छ।
भारतका विदेश मन्त्री एस. जयशङ्करले भारतले नक्साबारे चीनको ‘बेतुकको दाबी’माथि ‘कडा विरोध’ जनाएको बताए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच दक्षिण अफ्रिकामा सीमा विवाद सुल्झाउनेबारे कुराकानी भएकै केही दिनमा चीनको नयाँ नक्सा आएको छ। चीनले यस अघि पनि ती भारतीय इलाकामाथि आफ्नो दाबी गर्दै आएको छ।