News

अदालतको उल्झनमा रुङ्गटा ग्रुपः तीन महिनादेखि अनमोल फिड्स ठप्प, सयौँ कर्मचारी बेराेजगार

अदालतको उल्झनमा रुङ्गटा ग्रुपः तीन महिनादेखि अनमोल फिड्स ठप्प, सयौँ कर्मचारी बेराेजगार

चितवनका पोल्ट्री व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहनको मुद्दाका मुख्य आरोपी प्रदीप रुङ्गटा बिहीबार चितवन जिल्ला अदालतमा हाजिर हुन आए । अनमोल फिड्सका पूर्व प्रबन्ध सञ्चालकसमेत रहेका कँडेलले गत वैशाख १९ गते कार्यालयमा नै आत्महत्या गरेपछि उनले लेखेको सुसाइड नोटमा कम्पनीका मुख्य सञ्चालक रुङ्गटाले तनाव दिएको उल्लेख थियो ।

फरार भएको तीन महिनापछि जिल्ला अदालत चितवनमा उपस्थित भएका रुङ्गटा धरौटीमा छुट्नेमा निश्चिन्त थिए । उनी निश्चिन्त हुनका पछाडि उनले कँडेल परिवारसँग गरेको समझदारी थियो । पीडित परिवारसँग सहमति गरेकाले अदालतबाट धरौटीमा छुट्ने आशामा अदालत आएका थिए उनी । जब न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गयो, तब रुङ्गटा बेहोस भएर ढले । उनलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको छ । 

स्रोतका अनुसार परिवारले रुङ्गटासँग बसेर घटनाको सेफल्याण्डिङ गर्ने भनेर सहमति गरेको थियो । ‘मर्ने मान्छे मरेर गइहाले कम्पनी एउटै हो, व्यवहार मिलाउनुपर्छ भन्ने ठानेर रुङ्गटासँग एउटा समझदारी गर्ने सोच अनुसार नै कुरा गरिएको हो,’ कम्पनीका एक शेयर सदस्यले भने, तर पीडित पक्ष र रुङ्गटाको पक्ष बिच भएको सहमतिलाई अदालतले चिन्ने कुरा भएन ।’

लेनदेनकै कारण कडेलले आत्महत्या दुरुत्साहन भएको मान्न नसकिने अनमोल फिड्सका चार्टर एकाउन्टेन्ट जीवन रावलको तर्क छ । आत्महत्या दुरुत्साहनको आरोपमा थुनिएको ७१ दिनपछि रावल असार २९ गते धरौटीमा रिहा भएका थिए । 

रावल भन्छन्, ‘घटना भएको आरोपलाई पूर्ण समर्थन गर्दैनन् । नयाँ व्यवस्थापनपछि अनमोल फिड्सले पार्टीहरूलाई दिनुपर्ने ३ करोड २० लाख रुपैयाँ पहिलो चरणमा र ३ करोड बराबरको चेकमार्फत दोस्रो चरणमा भुक्तानी गरिरहेको देखिन्छ ।’ 

कँडेलले पार्टीहरूलाई तिर्नुपर्ने रकमबापत ५ करोड बराबरको चेकहरू सटही गरिसकेको लेखापाल रावल बताउँछन् । कुनै चेक नसाटिएको भनेर गुनासो आएको थिएन । रुङ्गटाले दिएका अन्य केही चेक साट्न बाँकी नै थियो । कँडेल स्वयम्‌ले बजारबाट उठ्नुपर्ने रकम उठाउन सघाउने बचन दिएको आरोपित रुङ्गटा पक्षको भनाइ छ ।

फ्याक्ट्री बन्द हुँदा वित्तीय दबाबमा रुङ्गटा समूह, सयौँ कर्मचारी बेरोजगार 

मुरली धर रुङ्गटाले सन् १९६८ मा नेपालमा व्यवसायीक लगानी सुरु गरेका थिए । जुनपछि गएर रुङ्गटा ग्रुपको नाममा स्थापित भयो । रुङ्गटा ग्रुपले स्थापनाकालदेखि नै आयात र निर्यातका साथै गहुँ, चामल, पिठो, दाल, सोया तेल, सूर्यमुखी तेल र प्यालेट फिडजस्ता खाद्यान्न प्रशोधन गर्ने क्षेत्रमा ठुलो योगदान दिइरहेको छ ।  रुङ्गटा मूहले पछिल्लो समय पोल्ट्री ह्याचरी तथा खाने तेल उत्पादन गर्दै आएको छ ।

२० चैत २०७९ यो ग्रुपले चितवनको अनमोल फिड किन्ने निर्णय गरेको थियो । जग्गा, भवन, मेसिन, गाडी आदिको ५८ करोड रुपैयाँ, बजारबाट उठाउनुपर्ने ४६ करोडमध्ये १० करोड रुपैयाँ नउठ्ने खालको उधारो भएकाले कटौती गरी ३६ करोड रुपैयाँ, फ्याक्ट्रीमा रहेका उत्पादन १४ करोड गरी १ सय ८ करोड रुपैयाँ सम्पत्ति तय गरिएको थियो ।

अनमोल फिड्सले ६५ करोड रुपैयाँ बैङ्कको कर्जा, २६ करोड रुपैयाँ कच्चा पदार्थ (साहु) को उधारो तिर्नु थियो । शेयरको पुँजी १९ करोड १५ लाख मूल्याङ्कन गरेर शेयर नेटवर्थ प्रतिशेयर ८७ रुपैयाँ निकालियो । ‘गूडविलसहित १ सय १५ प्रतिशेयर किनबेच गर्ने कुराकानी भई तत्काल बैनाबापत १ करोड रुपैयाँ शङ्कर कँडेलले लिएर कागज गरेका थिए । 

अनमोलको सम्पत्ति धितो राखेर कँडेलका सालोले ऋण लिएको पाइएपछि रुङ्गटाले जग्गा फुकुवा गर्न शेयर धनीहरूलाई नै जिम्मा लगाए । उक्त जग्गा फुकुवाका लागि उनले केही शेयरधनीले पाउनुपर्ने शेयरबराबरको ७ करोड ७५ लाख रुपैयाँ अग्रिम दिए । पैसा लिने शेयरधनीहरूले पछि प्रकाश पौडेलबाट असुल गर्ने गरी आफ्नो नामको बैंक चेकहरू काटी उक्त कर्जाबापतको ७ करोड ७५ लाख रुपैयाँ प्रकाशलाई दिएर जग्गा फुकुवा गरी अनमोल फिड्सको नाममा नामसारी गरियो ।

कम्पनीको शेयरमध्ये ८५ प्रतिशत रुङ्गटा र १५ प्रतिशत शेयर शंकर कँडेलको हुने गरी १ अर्ब १५ करोड रुपैयाँ मूल्याङ्कन गरी बैनास्वरूप १ करोड रुपैयाँको चेक कँडेलले बुझेका थिए । 

करिब एक अर्बमाथि लगानि गरेर अनमोल फिडको स्वामित्व लिएको रुङ्गटा ग्रुप अहिले चौतर्फी घेराबन्दीमा परेको छ । अनमोल फिडमा लगानी गरेपछि कुनै कारोबार सञ्चालन गर्न पाएको छैन । प्रतिष्ठित लगानीकर्ता रुङ्गटा ग्रुप अहिले एकपछि अर्को गर्दै समस्यामा परेको छ । अनमोल फिड कारखाना लगातार तीन महिनादेखि बन्द हुँदा ठुलो आर्थिक क्षति हुनुका साथै १ सय जना कर्मचारी बेरोजगार बनेका छन् । स्थिति गम्भीर बन्दै गएपछि कम्पनीले विभिन्न पार्टीबाट बढ्दो दबाबको सामना गरिरहेको छ ।

अनमोल फिड कारखाना बन्द हुँदा राज्यको अर्थतन्त्रमा ठुलो धक्का पुगेको  । अनमाेल फिड्समा कार्यरत सयाैँ कर्मचारीकाे  रोजगारी धरापमा परेकाे छ । साथै, सरकारले प्राप्त गर्ने राजस्व गुमाएको छ । कारखाना बन्द भएपछि रुङ्गटा समूहले अनमोल फिडको अधिग्रहण र विस्तारका लागि लिएको बैङ्क ऋणसँग जुध्न बाध्य भएको छ । बढ्दो ऋण र कारखाना ठप्प हुँदा रुङ्गटा समूहलाई आर्थिक स्थायित्वमा ठुलो दबाब परेको छ । 

व्यवसायीलाई हतोत्साहित बनाउने अनुसन्धान 

फरार भएको तीन महिनापछि जिल्ला अदालत चितवनमा उपस्थित भएका प्रदीप रुङ्गटा धरौटीमा छुट्नेमा निश्चिन्त थिए । उनी निश्चिन्त हुनका पछाडि उनले कँडेल परिवारसँग गरेको समझदारी थियो । पीडित परिवारसँग सहमति गरेकाले अदालतबाट धरौटीमा छुट्ने आशामा अदालत आएका थिए उनी । तर न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश ग¥यो । बयानका क्रममा केही लचिलो हुने र रुङ्गटालाई धरौटीमा छुटाउनका लागि पीडित पक्षका तर्फबाट आवश्यक सहजीकरण गर्ने समझदारी थियो । तर, अदालतको आदेश थुनामा नै पठाउने आएपछि सबै रुङगटा परिवार हतोत्साहित भएको छ ।  

थुनामा रहेका प्रदीप रुङगटाका परिवारका एकसदस्यले भने, ‘सरकारले व्यापारीहरूलाई निकै हतोत्साहित बनाएको छ । उहाँ (प्रदीप रुङगटा) नेपालको सबैभन्दा धेरै ठुलो कर तिर्ने व्यापारी हुन् । जाहेरी दिने पक्ष र प्रतिवादी पक्ष नै सहमत भएर आइसकेपछि पनि अदालतले थुनामा पठाउने कामले हामी दुःखित छौँ ।’

उनले निराशा व्यक्त गर्दै भने, ‘जाहेरी दिने पक्ष र प्रतिवादी मिलेर धरौटीमा छुटेर कम्पनी चलाउने योजना भएको थियो । त्यहाँ भएको कच्चा पदार्थ सडेर गएको छ । तीन महिनादेखि कम्पनी ठप्प छ । बैकको करोडौँ रिण छ । अदालतको यो निर्णयले हामीलाई निकै दुरुत्साहन गरेको छ । यस्तै मुद्दामा हिरासतमा नराखेरै अनुसन्धान भएका थुप्रै घटनाहरू छन् । उहाँ कुनै अपराधिक पृष्ठभूमि भएको मान्छे होइन । अदालतमा आफै उपस्थित हुनुभयो । थुनामा नपठाएर अनुसन्धान गर्ने काममा सहयोग गर्न हामी तयार थियौँ ।’ उनले प्रश्न गरे, ‘हामीलाई एउटै कुरा महसुस भइरहेको छ, उहाँ उद्योगपति भएर थुनामा पठाइएको हो? वा मारवाडी समुदायको भनेर?’ 

अदालतका श्रेष्तेदार ईश्वर आचार्यले पीडित र प्रतिवादीका बिचमा के सहमति भएको छ भन्ने कुरा अदालतले नचिन्ने बताए । उनले अदालतले मिसिल, बयान र कागजातका आधारमा कानुन अनुसार आदेश गर्ने बताए । उनले रुङ्गटालाई विषयमा बकपत्र हुने र त्यसपछि फैसला आउने प्रक्रियामा जाने बताए ।

यस्तै मुद्दामा रबीसँग नरम अदालत

२० साउन २०७६ मा पासो लागेर ज्यान फालेका पत्रकार सालिकराम पुडासैनीले रबी लामिछाने लगायत ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भिडियो गरेका थिए । 

उनलाई आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा ३० साउन २०७६ मा लामिछानेसहित तीन जना समातिए । आरोपित लामिछानेको पछाडि ठुलो भिड थियो । देशभरबाट हजारौँ मानिस उनको समर्थनमा चितवनमा भेला भए । समातिएको १२ दिनमै सशर्त धरौटीमा छुटे लामिछानेसहितका तीन जना आरोपित । एक वर्षपछि पुस २०७७ मा उनीहरूले सफाइ पाएका थिए । तर, घटना भएको तीन महिना वितिसक्दापनि रुङगटा समूह अदालतको कानुनी उल्झनमै रुमलिइरहेको छ ।

आत्महत्याको दुरुत्साहनको कसुरमाथि प्रश्नै प्रश्न

आत्महत्याको दुरुत्साहनको कसुरमा मानिसहरू पक्राउ पर्न थालेपछि यसबारे आम चासो बढेको छ । मानौँ, कुनै मानिस ऋणमा डुब्यो । उसले नजिकको अलि पैसावाल मानिससँग ऋण तिर्न सहयोग गर्न आग्रह गर्‍यो । सरसापट माग्दा छिमेकीले दिन चासो देखाएनन्। उता ऋणमा डुबेको मानिसलाई ऋणदाताले दबाब दिइरहेको थियो। यस्तो अवस्थामा उसले आफ्नो सम्पूर्ण घटना विवरण लेखेर आत्महत्या गर्‍यो भने सापटी दिएर सहयोग नगर्नेलाई सजाय दिने?

मानौँ, कुनै व्यापारीले बैङ्कबाट ऋण लिए । तिर्न सकेनन् । बैङ्कले नियम कानुनअनुसार ताकेता गरिरह्यो। बैङ्कले तनाव दिएको भन्दै ऋणीले बैङ्कको कर्मचारीको नाममा सुसाइड नोट लेखेर आत्महत्या गर्‍यो, के कर्मचारीलाई सजाय दिने? मानौँ, कुनै विद्यार्थी परीक्षामा फेल भयो । आफ्नो उत्तर पुस्तिका परीक्षण गर्दा पास नगर्ने शिक्षकको नाममा सुसाइड नोट लेखेर आत्महत्या गर्‍यो के शिक्षकलाई सजाय दिने? 

भारतको कानुनले पनि आत्महत्याको दुरुत्साहन गर्न नहुने भनेको छ। यद्यपि ‘सुसाइड नोट’मा नाम उल्लेख हुँदैमा यसलाई दोषी मान्न नमिल्ने व्याख्या भारतीय अदालतको छ । भारतको मदरास उच्च अदालतले सन् २०१२ मा एउटा मुद्दामा फैसला गरेको थियो ‘सुसाइड नोट’मा नाम उल्लेख हुँदैमा दोषी मान्न मिल्दैन ।’

‘कुनै व्यक्तिले आत्महत्या गर्दा सुसाइड नोटमा नाम उल्लेख गर्दैमा तत्कालै कुनै निष्कर्षमा पुग्नु हुँदैन । त्यसलाई नै फौजदारी कसुर सिर्जना हुने पर्याप्त कारण मान्न मिल्दैन। सुसाइड नोटमा उल्लेख भएको विषयहरूको व्याख्या हुनुपर्छ । के ती विषयहरूले नै आत्महत्याका लागि दबाब तथा दुरुत्साहन गरेका हुन् वा होइनन्’ उच्च अदालतको फैसलामा उल्लेख छ ।

रुङ्गटा ग्रुप, अनमोल फिड्स, प्रदीप रुङ्गटा रुङ्गटा ग्रुप अनमोल फिड्स प्रदीप रुङ्गटा

विशेष