News

भारतीय लगानीमा विभिन्न जिल्लामा सञ्चालन हुने ४ ओटा परियोजनाको सम्झौता

भारतीय लगानीमा विभिन्न जिल्लामा सञ्चालन हुने ४ ओटा परियोजनाको सम्झौता

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालमा शिक्षा क्षेत्रका तीन र खानेपानी आपूर्ति तथा सरसफाइको एक गरी चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण अघि बढाउन समझदारी भएको छ।

भारतीय राजदूतावास, काठमाडौं र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच शुक्रवार समझदारी पत्रमा हस्ताक्षर भयो । यी परियोजनाको अनुमानित लागत नेपाली १७ करोड छ । 

यस अन्तर्गत    शैल्यशिखर नगरपालिकास्थित श्री गलैनाथ माध्यमिक विद्यालयको विद्यालय भवनको निर्माण, दार्चुला जिल्लाको व्यास गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको भवन निर्माण, संखुवासभा जिल्लाको चिचिला गाउँपालिकास्थित दिदिङ प्राथमिक विद्यालयको विद्यालय भवन निर्माण र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित श्रीपुर खानेपानी आपूर्ति तथा सरसफाई परियोजनाका लागि सम्झौता भएको हो।

शैल्यशिखर नगरपालिका, व्यास गाउँपालिका, चिचिला गाउँपालिका र त्रियुगा नगरपालिकाले ति परियोजना परिचालन गर्नेछन्। 

परियोजनाको निर्माणले स्थानीय समुदायका लागि गुणस्तरीय शिक्षा र खानेपानी तथा सरसफाई सुविधा उपलब्ध गराउनुका साथै नेपाली जनताको जीवनस्तरमा सुधार ल्याउनेछ भारतीय दुतावासले अपेक्षा गरेको छ।

सन् २००३ यता भारतले नेपालका सातवटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइका क्षेत्रमा र अन्य सार्वजनिक सुविधाको निर्माणमा ५४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ ।

यस मध्ये ४८३ वटा परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी ६३ वटा परियोजना निर्माणाधीन अवस्थामा रहेका छन् । सबै परियोजनाको कूल लागत करिब १२२० करोड (भारु.७६२ करोड) रहेको छ । यी परियोजनाहरु धेरै जसो नेपाल सरकारको स्थानीय निकायमार्फत कार्यान्वयन भएका हुन् ।
 

विशेष