News

क्विन्टल सुन प्रकरणको अनुशन्धान प्रहरीलाई जिम्मा

क्विन्टल सुन प्रकरणको अनुशन्धान प्रहरीलाई जिम्मा

क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको हातमा पुगेको छ। राजस्व अनुसन्धान विभागले अनुशन्धानको बाँकी काम प्रहरीलाई जिम्मा लगाएको हो ।

विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको छ । अब यो प्रकरणका अनुसन्धान सिआईबीले गर्नेछ। सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागले जनाएको छ।

पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गरेको जनाईएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई यसको जिम्मा दिएको छ। सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन ।


अब प्रहरीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ । हङकङबाट गत असार २९ मा क्याथे प्यासिफिकको जहाजमा स्कुटरका ब्रेक सुभित्र लुकाएर ल्याइएका सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गरी बाहिरिएको थियो ।

त्यसलगत्तै विभाग र सशस्त्र प्रहरी बल (एपीएफ) को विशेष टोलीले भन्सारबाहिर सिनामंगल सडकबाट ब्रेक सुभित्र लुकाइएको सय किलो सुनसहित दुई जनालाई पक्राउ गरेको थियो । यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परेका छन्।

अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुगेको छैन । मूल गिरोह अझै अनुसन्धानको दायराभन्दा बाहिर छ । अनुसन्धानमा तानिएका व्यापारी राकेशकुमार अडुकिया फरार छन ।
 

सुन तस्करी

विशेष