News

बैंकको लकरमा गोली लुकाउने ल्हारक्याललाई लुम्बिनी विकास कोषको चाबी!

प्रचण्ड र सुदन किराँतीले विवादरहित मान्छे नै भेटेनन् ? 

बैंकको लकरमा गोली लुकाउने ल्हारक्याललाई लुम्बिनी विकास कोषको चाबी!

सरकारले विवादास्पद छविका पूर्वसांसद ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो।

माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन्। उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए ।

०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए। उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए। 

लामा वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका छन्।

अख्तियार दुरुपयोग अनुशन्धान आयोगले अकुत सम्पत्ति छानविन गर्दा इन्भेष्टमेन्ट बैंकको उनको लकरमा १४ थान गोली भेटेको थियो। त्यसपछि उनी पक्राउ परेका थिए। उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छोडेपछि गेट वाहिर वसेको प्रहरीले वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

उनले मकाउ पठाइदिने भन्दै २ करोड १९ लाख रुपैयाँ ठगी गरेको भन्दै अपरच्युनिटि म्यानपावर सर्भिसेजका अध्यक्ष केशबबहादुर गुरुङले ०७९ भदौमा उजुरी दिएका थिए। नक्कली राहदानी बनाउनेदेखि भारतीय पासपोर्ट र तिब्बती शरणार्थीको परिचय पत्र बनाएको खवर समेत वाहिरिएको थियो। 

नेपालमा भइरहेको चीन विरोधी तिब्बती आन्दोलनलाई सघाउन तिब्बती शरणार्थी परिचय पत्र लिएका उनले तिब्बतीहरुलाई भारतसम्म लैजान सजिलो होस् भनेर भारतीय पासपोर्ट समेत बनाएका पाईएको छ। उनीसँग ११२१५८८ नम्बरको नेपाली र २१२९८१२ नम्बरको भारतीय पासपोर्ट छ ।

नेपाली राहदानीमा उनको नाम वाङचुक रिम्पोछे छ भने भारतीय राहदानीमा खेम्पो छिमे छिरिङ । तिब्बती शरणार्थी परिचयपत्रमा उनको नामा लामा छिमे छिरिङ छ।

प्रधानमन्त्री संरक्षक र पर्यटनमन्त्री अध्यक्ष रहने कोषमा विवादास्पद ब्यक्तिलाई उपाध्यक्ष बनाएको भन्दै आलोचना भईरहेको छ। कोषमा उपाध्यक्ष नै कार्यकारी हुने ब्यवस्था छ। लामाको नियुक्तिले प्रधानमन्त्री र उनका मन्त्रीहरुका आसपासमा निस्पक्ष, निर्विवाद र स्वच्छ छविका मानिसहरु नै नरहेको पुष्टि भएको अधिकांशको भनाई छ।

यो पनि,

लुम्बिनी विकास कोष लुम्बिनी

विशेष