को हुन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाउने महिला?
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छिन्। हत्या योजनालाई असफल बनाइएको युक्रेन सरकारले बताएको छ ।
माइकोलेभ शहरको बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रपति जेलेन्स्कीको हत्याका लागि ती महिलाले जेलेन्स्कीको जानकारी पत्ता लगाउन खोजेकी थिइन् । युक्रेनको सुरक्षा सेवा एसबीयूका अनुसार संदिग्ध महिला ओचाकिभको सानो शहरमा बस्छिन्, जहाँ जेलेन्स्की गत जुलाईमा गएका थिए । त्यहाँ ती महिला सैन्य बेसमा राखिएको पसलमा काम गर्थिन् ।
ती महिलाले जेलेन्स्की रहेको स्थान पत्ता लगाउन खोजेको र युक्रेनी सैनिक र हतियारबारे जानकारी रुसी सेनालाई दिएको आरोप लगाइएको छ । यदि जेलेन्स्कीको जानकारी ती महिलाले पत्ता लगाएको भए त्यहाँ रुसी सेनाले आक्रमण गरेर जेलेन्स्कीको ज्यान लिन सक्थे । ती महिलामाथिको आरोप पुष्टि भए उनलाई १२ वर्षसम्मको जेल सजाय हुनेछ ।
युक्रेनमा प्रायःजसो रुसलाई समर्थन गर्ने युक्रेनी नागरिकहरूले रुसी सेनालाई युक्रेनको अवस्थाबारे जानकारी दिने गरेको आरोप लाग्ने गर्छ । जेलेन्स्कीले आफ्नो हत्या योजनामा संलग्न महिलालाई गिरफ्तार गरिएको विषय पुष्टि गरेका छन् । ती महिलाको नाम खुलाइएको छैन ।
रुसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि गतवर्ष नै जेलेन्स्कीको हत्या गर्न खोजिएका विवरणहरू सार्वजनिक भएका थिए । रुसी कमाण्डोहरूले राजधानकी किभस्थित युक्रेनी राष्ट्रपतिको निवासमै पुगेर जेलेन्स्कीको हत्या गर्न खोजेका थिए । ती रुसी सेनाहरू युक्रेनमा आक्रमण सुरु भएकै दिन सैन्य विमानबाट प्यारासुटहुँदै राष्ट्रपतिको निवास अवतरण गरेका थिए ।
भोलोदिमिर जेलेन्स्की