इटालीमा आप्रवासी चढेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु

इटालीमा आप्रवासीहरू चढेको डुंगा पल्टिँदा ४१ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार इटालीयन टापु लाम्पेदुसामा बुधबार डुंगा दुर्घटना भएको हो। दुर्घटनामा जीवित भएका चार जना यात्रुहरूले आफूहरू ट्युनिसीयाको स्फ्याक्सबाट डुंगाको यात्रा गरेको बताएका छन्। उनीहरू इटाली जाने क्रममा डुंगा दुर्घटना भएको हो।
उत्तर अफ्रिकाबाट युरोप जाने शिलशिलामा यस वर्ष मात्रै १ हजार ८ सय मानिसहरूले ज्यान गुमाइसकेका छन्। आप्रवासी तथा शरणार्थीको रुपमा असुरक्षित मार्ग हुँदै युरोप जाने क्रममा हरेक वर्ष यस्ता दुर्घटना हुने गरेका छन्।