मलंगवामा लगाइएको कर्फ्यु हट्यो, निशेधाज्ञा जारी
दुई समुदायबीच झडप हुन सक्ने माशंकाले सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि हटेको छ। स्थानीय प्रशासनले ७२ घन्टाका लािग निषेधाज्ञा भने जारी राखेको छ।
कर्फ्यु खुलेपछि जनजीवन सामान्य बनको छ। बजार, पसल खुल्न थालेका छन् । स्थानीय प्रशासनले शनिबार साँझ ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु आदेश गरिएको समयमा स्थिति सामान्य रहेको सीडीओ इन्द्रदेव यादवले बताए। सम्भावित घटना हुन नदिन स्थानीय प्रशासनले ७२ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ । भेला, जुलुस, धर्ना, आमसभा लगायतका कार्यक्रम गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको हो।
एसपी नरेशराज सुवेदीले निषेधाज्ञामा मानिस हिँडडुल गर्न पाउने बजार पसल खोल्न पाउने तर भेला, जुलुस लगायतका उच्छृंखल गतिविधि गर्न नपाइने जानकारी दिए ।
शुक्रबार साँझ जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच झडप हुँदा मलंगवा अशान्त बनेको थियो । शनिबार बिहानदेखि मलंगवामा उच्छृंखल गतिविधि बढेर स्थिति नियन्त्रण भन्दा बाहिर जानथालेपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ’क’ को १ र ३ बमोजिम जिल्ला प्रशासनले कर्फ्यु लगाएको थियो ।