सुनसरीमा लुटेर खोज्न गएको प्रहरी नै जव हतियार लुटाएर फर्कियो...
सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा सादा पोशाकमा खटिएका दुई जना प्रहरीमाथि आक्रमण गरेर हतियार लुटने समुहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रवार ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटेर भागेका उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
उनीहरूको साथबाट प्रहरीको हतियार लुट्न प्रयोग गरिएको पेस्तोल, लुटिएको प्रहरीको पेस्तोल, केही सुन र मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए।
सुनसरीको सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना संकलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई खटाएको थियो।
उनीहरू इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका थिए। सादा पोसाकमा खटाइएका परियार र चौधरी पुग्नासाथ लुटेरा समूहले आक्रमण गरेर हतियार लुटेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताएका थिए।
उनका अनुसार पछाडिबाट टाउकोमा चिर्पट प्रहार भएपछि केहीबेर दुई पक्षबीच घम्साघम्सीसमेत भएको थियो। तर, आक्रमणकारीको समूह ठूलो र प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको एसपी रेग्मीले बताए।
आक्रमणबाट दुवै प्रहरी जवान घाइते छन्।