बरमझियाको पेडासँग केपी ओलीको एतिहाँसिक सम्वन्ध, इतिहाँसलाई यसरी गराए ताजा
सिरहाको धनगढीमाई नगरपालिका–४ सर्रे, अम्बासमा बुधवार एतिहासिक सचिवालय बैठक बसेर फर्किने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कञ्चनरुप नगरपालिका–२, वरिमझीयाको पेडा पसलमा रोकिए।
ओलीले वरझीयाको फोटो फेसबुकमा शेयर गर्दै त्यस ठाउँमा आफनो इतिहाँस जोडिएको जनाएका छन्। ०४६ सालमा तत्कालीन मालेको चौथो महाधिवेशन आयोजना भएकै घरमा एमालेको सचिवालय बैठक बसेको थियो। सो महाधिवेशनबाट मदन भण्डारी महासचिव चयन भएका थिए। त्यसको करिब ३४ वर्षपछि सोही स्थानमा सचिवालय बैठक बसेको हो।
वैठकबाट फर्किेने क्रममा राति करिव १० वजे उनी बरमझियामा ओर्लिए। वरमझीयाको पेडा देशमा मात्रै नभएर विदेशमा पनि चर्चित छ। बरमझीयााम उस्तैउस्तै नामका झन्डै एक सयभन्दा वढी पेडा पसल छन्। पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने मेचीदेखि महाकालीका यात्रुलाई यहाँको पेडाले मिठो स्वाद दिएको छ।
यहाँका पसलमा बन्ने पेडासबै गुणस्तरीय भने छैनन्। यही प्रसंगमा केही वर्षअघि ओली भाषण पनि गरेका थिए। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सर्वोच्च अदालतको एक फैसलाले विभाजन हुनुअघि दलको आधिकारिकताको विवाद चुलिएको थियो । ओलीको नेतृत्वमा रहेको एक समूह एकातिर थियो भने पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको समूह अर्कोतिरबाट आधिकारिकताको दाबी गरिरहेका थिए ।
यही बेला ओलीले बरमझिया पेडाको प्रसंग निकाल्दै असली नेकपा आफूहरू रहेको भाषण दिए । बरमझियाको पेडा असली र नक्कली हुनसक्ने तर आफूले नेतृत्व गरेको नेकपा नक्कली हुन नसक्ने आशयसहित ओलीले भाषण दिएका थिए ।
उनको त्यो भाषण अनुसार नै यहाँ सबै पसलेले अघिल्तिर ‘असली’ ‘पुरानो’ जस्ता शब्द झुन्ड्याएका छन्। जसले गर्दा असली पेडा पसलको खोजीमा अधिकांश ग्राहक झुक्किने गरेका छन्।
बरमझियामा पेडा बनाउन सुरुवात गर्ने व्यक्ति बैजनाथ साह हुन्। ‘श्री बैजनाथ साह पेडा भण्डार’ का संस्थापक बैजनाथ साहको २०६९ साउनमा निधन भयो। तर, उनले सुरु गरेको पेडा पसल भने ७ दशकदेखि चलिरहेको छ। परिवारका बाँकी सदस्यले पसल चलाइरहेका छन्।
चौथो पुस्तामा चलिरहेको यो पसल अकल साहले सुरु गरेका हुन्। यहाँ पेडा भित्र्याएको भने उनका छोरा बैजनाथले हो। बैजनाथका दुई छोरा छन्, जेठा जयराम र कान्छा राजकुमार। जेठा जयराम मोरङमा छन् भने कान्छा राजकुमार निजी स्कुलमा पढाउँछन्। राजकुमारका छोरा विवेक साहले पुस्ताको विडो थामेर पेसालाई निरन्तरता दिइरहेका छन्।
बैजनाथ साहको पेडाको स्वादले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई पनि लोभ्याएको रहेछ। उनले पेडासँगै चिउरा र दूधको छाली खाएर गएको स्थानीयहरु अहिले पनि सम्झन्छन्।
ओलीले पनि बुधवार वरमझीया पुगेर इतिहाँसलाई ताजा वनाएका छन्। ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ । अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो’ भन्दै उनले फेसवुकमा लेखेका छन्।
‘रातिको करिब ९÷१० बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो’ उनले लेखेका छन्–‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’