बालिकाको मृत्यु प्रकरणमा विद्यालयका संस्थापक र प्रधानाध्यापक पक्राउ
रुकुम पश्चिम एक विद्यालयमा छात्रा मृत्यु भएपछि प्रहरीले विद्यालयका संस्थापक र प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
उनीहरुलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की १३ वर्षीया बालिका सृष्टि गौतम गत शुक्रबार विद्यालयबाट फर्केको केहीबेरमा मृत अवस्थामा फेला परेकी थिईन।
त्यसपछि बालिकाका आफन्तले विद्यालयका संस्थापक र प्रधानाध्यापकका विरुद्ध जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका थिए ।
मृतककी दिदी सिर्जना गौतमले आईतवार सृष्टि अध्ययन गर्ने विद्यालय भ्याली पब्लिक स्कुल चौरजहारीकी संस्थापक युडेन भोटिया भण्डारी र प्रधानाध्यापक पुष्पा लामिछाने शाहका विरुद्धमा आत्महत्या दुरुत्सहानको जाहेरी दिएका हुन् ।
बालिकाले आत्महत्या गर्नुको कारण विद्यालयमा मानसिक र शारीरिक पीडा भएको भनेर जाहेरी परेको छ। बालिकाका काका यदु गौतमले छोरीलाई शुक्रबारका दिन विद्यालयमा कुटपिट गरेको र शारीरिक एवम् मानसिक यातना दिई उनलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए।
मृतक बालिकाका बुबा पर्शुराम सेनामा कार्यरत छन् भने, आमा शान्ता घरमै छिन् । पर्शुराम र शान्ताका जम्मा २ छोरी र १ छोरा गरी ३ सन्तानमध्ये सृष्टि कान्छी छोरी हुन् ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर धर्मेन्द्र खड्काले जाहेरीका आधारमासंस्थापक र प्रधानाध्यापकलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान अघि बढाएको बताए।