गौहत्याको विरोधमा राजविराजमा प्रदर्शन, नेपाली रुपैयाँमा गाइको चित्र अंकित गर्न माग
सप्तरीमा गौहत्याको विरोध गर्दै शुक्रवार प्रदर्शन भएको छ। वैदिक संस्कृती समाज सप्तरीको आयोजनामा सदरमुकाम राजविराजमा प्रदर्शन गरेको हो।
प्रदर्शनमा ‘गौवंश संरक्षण गर, गौ हत्या बन्द गर’ लगायतका नारा लगाईएको थियो। वैदिक संस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराज स्थित शिव मन्दिर प्रांगणबाट ‘गौवंश संरक्षण गर, गौ हत्या बन्द गर, हिन्दु राष्ट्र कायम गर, वैदिक गणतन्त्र घोषणा गर’ लगायतका नारासहित सभागिहरुले नगर परिक्रमा गरेका थिए ।
नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा आयोजना गरिएको थियो। सभालाई संवोधन गर्दै बक्ताहरुले सुनसरीको धरानमा गाई÷गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग गरेका छन्।
बाबा मोतीलाल वैरागीले संबैधानिक प्रावधान विपरीत गाई÷गोरुलाई हत्या गरि सार्वजनिक रुपमै भोजको आयोजना गरेकोले सो घटनाको छानविन गरी दोषीलाई कार्यवाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराए ।
वैदिक संस्कृती समाजका अध्यक्ष रामकुमार शास्त्रीले संविधान विपरीत कार्य गर्ने जो कोहिलाई कानुनी दायरमा ल्याई संविधानको रक्षा गर्दै धार्मिक, सामाजिक सांस्कृतिक एवम् सामुदायिक सद्भाव कायम राखी दोषीमाथी अविलम्ब कारबाही गर्न माग गरे।
कानुनी प्रावधानका कार्यान्वयन गरी दोषीलाई कारवाही गर्न र शान्ति सुरक्षा एवम समस्या समाधानका लागि पहल गर्न उनले माग गरे।
समता मुलक समाज निर्माण महाअभियानकी उपाध्यक्ष सुनिता साह (क्रान्ति) ले नेपालको संविधानमै गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएकोले गाई हत्या रोकी संविधानको मुल मर्मलाई संरक्षण गर्न सरकारसग माग गरिन।
उनले नेपालको संविधानको भाग १ प्रारम्भिक धारा ४ को स्पष्टीकरणमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायतका धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अक्षुण राख्नु पर्ने प्रावधान रहेको बताइन । सोही भागको धारा ९ को उपधारा ३ अनुसार ‘राष्ट्रिय जनावार गाई हुनेछ’ भन्ने स्पष्ट रुपमा उल्लेख भएकाले अव नेपाली रुपैयाँमा गाईको चित्र राख्न पनि सरकारको ध्यानाकर्षण गराईन।