मुटुमा समस्या भएपछि पारश साह अस्पताल भर्ना, हिमानीसहित परिवारै अस्पतालमा
मुटुमा असहज भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । शाहलाई शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना गरिएको छ ।
पारसको स्वास्थ्य अवस्था हाल सामान्य रहेको तर मुटुमा यसअघि पनि समस्या देखिएकाले सुपरिवेक्षणका लागि २४ घण्टा राख्ने निर्णय भएको अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले जानकारी दिएका छन्।
‘उहाँ छाती दुख्ने समस्या भएर आउनुभएको थियो । हामीले केही परीक्षण गरेका थियौं । त्यस्तो खासै गम्भीर समस्या केही देखिएको छैन’ चिकित्सकले भने, ‘अन्य केही परीक्षण गर्न बाँकी छ । सायद, भोलि उहाँलाई डिस्चार्ज गर्न सकिन्छ ।’
‘उँहालाई पहिला मुटुको समस्या भएकाले भर्ना गरेर राख्नुपरेको हो । एक–दुई वटा परीक्षणले सबै नर्मल भन्न नसकिने हुँदा भर्ना गरिएको छ । मुटु समस्याको औषधि खाइराख्नु भएकाले उहाँको अवस्था अहिले स्थिर छ’ ती चिकित्सक भन्छन् ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।