संविधानमा धर्मनिरपेक्षता घुसाउने खलपात्र नै हुन त सुभाष नेम्वाङ ?
यस कारण नेम्वाङमाथि लागिरहन्छ ‘हिन्दु राज्य हटाउन मुख्य भूमिका खेलेको’ आरोप
सोमवार राती संविधान सभाका अध्यक्ष एवम् पुर्व सभामुख सुवाषचन्द्र नेम्वाङको निधन भएपछि राजनीतिकवृत्त स्तब्ध छ।
नेम्वाङ ‘शान्त, शिष्ट, शब्य, नम्र व्यवहार भएका ब्यक्ति’ भन्दै अधिकांशले उनको गुणगान गाएका छन्। उनको निधनले धेरैको मन रोएको छ। श्रद्धाञ्जली दिन पुगेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओलीकी पत्नि राधिका शाक्य, एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेता त आँशु झारेरै रोएको देखियो।
तर, यसो भन्दै गर्दा उनी सवैको प्यारो, आँखामा राख्दा नविझाउने, सवैका हाई–हाई र सवैको नजरमा राम्रै राम्रो भन्ने चाहीँ देखिएन। सामाजिक सञ्चालमा उनको विरोध गर्नेहरु पनि देखिए। तारा बराललगायतका कतिपयले एकदिन पनि धैर्य नगरीकन उनका वारेमा आलोचनात्मक टिप्पणी गरेका छन्।
खास गरी हिन्दु राज्य नेपाललाई धर्मनिरपेक्ष बनाउन भुमिका निर्वाह गरेको आरोप उनीप्रति लाग्ने गरेको छ। ०६२÷०६३ को जनआन्दोलनपछि नेपालको राज्य संरचना संघीय स्वरूपको हुने सुनिश्चित भएसँगै मुलुकलाई धर्मनिरपेक्ष बनाउने काम भयो।
२०६३ जेठ ४ गते प्रतिनिधिसभाबाट राजतन्त्र हटाएर देशलाई धर्मनिरपेक्ष घोषणा गर्दा उनी आफैंले वाचन गरेका थिए। त्यसपछि २०६५ जेठ १५ गते गणतन्त्रको औपचारिक अनुमोदन गरिएको थियो।
राजतन्त्रको अन्त्य २०६३ जेठ ४ को प्रतिनिधिसभाको घोषणाबाट गरिसकेर संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता कायम भएको थियो। त्यसबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला थिए। तर, आफू बिरामी भएकाले उक्त घोषणा वाचन गर्न नेम्वाङलाई अह्राए।
धर्मनिरपेक्षसहितको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दाको दस्तावेज वाचन गरेका उनै नेम्वाङलाई अहिले पनि नेपालबाट हिन्दु राज्य हटाउन मुख्य भूमिका खेलेको आरोप लागिरहन्छ।
०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गर्दा सभाध्यक्ष नेम्वाङ नै थिए। उनले आफूलाई लाग्ने गरेको त्यही आरोप बारेमा गत भदौ २ गते पत्रकारहरुलाई सुनाएका थिए।
संघीय संसद् सचिवालयले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमका मुख्य वक्ताका रुपमा उपस्थित भएका नेम्वाङले भनेका थिए ‘उहाँ (प्रधानमन्त्री कोईराला) ले बिरामी भएकाले सक्दिनँ भनेर मलाई त्यो घोषणा पढ्न लगाउनु भयो। स्वास्थ्यमा समस्या भएकाले उहाँले तपाईं नै पढ्नु भन्दा मैले त्यसलाई गौरवका रुपमा लिएँ। त्यो घोषणा मैले प्रतिनिधिसभामा पढेको थिएँ। पछि त्यो घोषणा राजपत्रमा प्रकाशित भयो। सरकारको तर्फबाट, प्रधानमन्त्रीको तर्फबाट सबै सांसदहरुलाई त्यो बाँडियो।’
उनले जेठ ४ गते देशलाई धर्मनिरपेक्ष घोषणा गर्ने एजेन्डा आफूले बीचमा घुसाएको भन्ने आरोपको खण्डन गरेका थिए। ‘अनि मलाई आश्चर्य लाग्यो हामी त कसरी हिँड्दा रहेछौँ?’, उनले भनेका थिए ‘सरकारले त्यसरी पास गरेको, प्रतिनिधिसभाबाट सर्वसम्मतले पास भएको दस्तावेजभित्र सुवास नेम्वाङले खुसुक्क के छिराइदियो भनेर चर्चा गरेछन्।’
उनले आफूले एक्लो निर्णयबाट धर्मनिरपेक्षता घुसाउन सम्भव नै नभएको पनि बताएका थिए। ‘त्यत्रो सरकारदेखि संसदमा आउँदै अघि बढेको कुरा मैले बीचमा घुसाउन सम्भव हुन्न। तर धर्मनिरपेक्षता त सुवास नेम्वाङले छिराइिदयो भनेछन’, उनले भनेका थिए ‘इलाममा त्यहीकारणले मेरोविरुद्ध निर्वाचन अभियान लिएर पनि पुगेछन्। हाम्रा आँखाअगाडि भएका सरकारी दस्तावेजबारे अझै मप्रति प्रश्न उठाउँछन्।’
उनले ‘मैले संविधानमा धर्मनिरपेक्षता घुसाएको होइन’ भन्दै प्रष्टिकरण दिएका थिए।