भक्तपुरमा उत्पात मच्चाएका बाल कैदीवन्दीले विरगञ्ज सुधार र्गहमा पनि झडप गराए
केही दिनअघि भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाए बाल कैदीवन्दीले वीरगन्जको वीर्तास्थित बाल सुधार गृहमा पनि ताण्डव सुरु गरेका छन्।
उनीहरुकै उक्साहटमा मंगलबार राति ८ बजेदेखि बाल सुधार गृह तनावग्रस्त छ। भक्तपुरमा समस्या उत्पन्न गरेपछि १८ जना बाल कैदीबन्दीलाई वीरगन्जको बाल सुधार गृहमा सारिएको थियो । तर उनीहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए।
अहिले उनीहरुकै उक्साहटमा विरगञ्जमा रहेका अन्य बाल कैदीबन्दीहरुले मंगलबार राति ८ बजेदेखि उत्पात मच्चाएको बताइएको छ । उनीहरुले सुधारगृह भित्र तोडफोड गर्नुका साथै बाहिर रहेका प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। आज बिहान स्थिति सामान्य भए पनि प्रहरीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी कुमार विक्रम थापाले आज बिहानको अवस्था सामान्य रहेको बताए । यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उनले जानकारी दिएका छन् । उनले बाल कैदीवन्दीमा विवाद भएर यस्तो अवस्था आएको वताए।
यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए । त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो ।