News

राहुलपछि अव कृष्णबहादुर महराको पक्राउ पर्ने पालो ?

एउटै कसुरका आरोपी राहुल पक्राउ पर्दा कृष्णवहादुरलाई किन छोडियो

राहुलपछि अव कृष्णबहादुर महराको पक्राउ पर्ने पालो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा ई–सिगरेट (भेप) मार्फत तस्करी गरी ल्याईएको ९ किलो सुन पक्राउ परेको विषयमा अनुशन्धान गर्न प्रहरीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरालाई वुधवार पक्राउ गर्यो। 

प्रहरीले उनलाई ५ दिनको म्याद लिएर हिरासतमा राखेको छ। ०७९ माघ २९ गते २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान भेप बरामद भएको थियो । जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।

भेप साटफेर भएको थाहा पाएपछि खोजबिन गर्दा बरामद भएको भेपमा करिब ९ किलो सुन भेटिएको र त्यसलाई बिक्री गरेको अनुसन्धानबाट देखिएको थियो । यसबारे अनुसन्धान गरेको सीआईबीले बुझाएको रायसहितको प्रतिवेदनका आधारमा सुन बिक्री गर्ने र सुन किन्ने समूहविरुद्ध संगठित अपराध र आपराधिक विश्वासघात शीर्षकमा मुद्दा चल्यो ।

९० दिन लामो अनुसन्धान गरेर प्रहरीले चिनियाँ नागरिक लुई, दावोजिन वाङ, राहुल महरा, लोकेन्द्र पौडेल, श्याम शाह लगायतको सम्पर्क सम्पर्क रहेको पत्ता लगायो। महराले विमानस्थल भन्सार कार्यालयका अधिकारीहरुलाई फोन गरेर चिनियाँ नागरिकले राखेको सामानबारे चासो राखेको प्रहरीको भनाई छ।

प्रहरीको अभियोग–पत्रमा पूर्वसभामुखले भन्सारका कर्मचारीलाई सामानबारे चासो राख्दै फोन गरेको पाइएको उल्लेख छ। ‘भेप लिलाम गर्न उनले भनेको पाइएको छ ।’ अभियोग पत्रमा लेखिएको छ।

महरा स्वयंले पनि आफूले एकपटक कर्मचारीलाई फोन गरेको स्वीकारेका छन् । पत्रकारहरुसँग कुरा गर्दै महराले चिनियाँ नागरिकले भन्सारमा सामान रोकियो भनेपछि अधिकारीहरुसँग कुरा गरेको स्वीकारेका थिए । तर, उनले त्यो सामान सुन भएको भन्ने थाहा नभएको महराको भनाई थियोि।

महराले वाङसँग १०÷१२ वर्षदेखि चिनजान र आउजाउ रहेको भन्दै उनलाई फलफूल ब्यापारीका रुपमा चिनेको बताएका थिए । 

सीआईबीका अधिकृतहरु पनि महरालाई तत्काल पक्राउ गरिहाल्नुपर्ने अवस्था नदेखिएको बताउँछन् । तर, उनीसँग पनि सोधपुछ र बयान लिने अवस्था भने बनेको सीआईबी स्रोत बताउँछ । महराका कान्छा छोरा राहुलको भने चिनियाँ नागरिकसँग बाक्लो सम्पर्क देखिएको छ।

राहुलले चिनियाँ नागरिक दावोजिन वाङलाई १३१ पटक फोन गरेको कल डिटेल रेकर्डमा देखिन्छ भने वाङले उनलाई ६४ पटक फोन गरेका छन् । राहुलले सुन तस्करीमा संलग्न चिनियाँ नागरिक लुईका सवारी चालक लोकेन्द्र पौडेललाई पनि २६ पटक फोन गरेको देखिन्छ । जेठा छोरा निर्मललाई चिनियाँ नागरिक लुई र दावोजिन वाङले पनि ११÷११ पटक सम्पर्क गरेको तथ्य प्रहरीले फेला पारेको थियो ।

राहुलको हकमा उनले सुनसहितको भेप छुटाइदिन भन्दै पटकपटक भन्सार कार्यालयका अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेका थिए । श्रेष्ठ स्वयंले पनि बयानमा राहुलले जफत भएको भेपको लिलामी प्रक्रियाबारे सोधपुछ गरेको बताएका थिए ।

राहुल स्वयं सुन तस्करीमा संलग्न चिनियाँ नागरिकहरुलाई लिएर विमानस्थल भन्सार कार्यालय पुगेको तथ्य पनि सीआईबीले फेला पारेको छ । 

बुधबार राहुल पक्राउ परेसँग कृष्णबहादुरको हकमा के हुन्छ भन्ने अहिले आम चासो छ। साहुलसँग सम्पर्कमा भएका ब्यक्तिसँग कृष्णबहादुरको पनि बाक्लै टेलिफोन सम्पर्क भएकाले पनि उनी पक्राउ पर्न सक्ने धेरैको अनुमान छ।

दोस्रो चरणको अनुसन्धानका क्रममा प्रहरीले राहुललाई सुन तस्करीमा संलग्न व्यक्तिका रुपमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेको छ । 

राहुल महरा कृष्णबहादुर महरा सुन तस्करी

विशेष