रवि लामिछानेको कोर टीमका मोहनजंग थापामाथि अनुशन्धान थालियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको कोर टिमका सदस्यमाथि अनुशन्धान सुरु भएको छ। निलम्वित सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बनाउन पैसा मागेको भन्दै आरोप लगाएपछि केन्द्रीय सदस्य मोहनजंग थापामाथि अनुसन्धान सुरु भएको हो।
श्रेष्ठले सभापति लामिछानेको परिवारको सदस्यमै गणना हुने थापालाई नै संकेत गरेर यस अघि आफुले कोर टिम भनेको वताएका छन्। अमेरिकामा रहँदा लामिछानेसँग रहेका थापाले मन्त्री बनाउँछु भनेर आफूसँग ३ करोड रुपैयाँ मागेको श्रेष्ठको दावी छ।
बार्गेनिङ गर्दै जाँदा साढे दुई करोडमा कुरा मिलेको पनि उनले वताएका छन्। सोही विषयमा पार्टीको अनुशासन आयोगले केन्द्रीय सदस्य थापासँग सोधपुछ र अनुसन्धानको प्रक्रिया अगाडि बढाएको रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बताए ।
गत चैतमा रास्वपाका तत्कालीन सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक गरेको थियो । त्यो अडियो सार्वजनिक भएपछि श्रेष्ठले कहिले त्यो अडियो आफ्नो होइन त कहिले पुसको अडियो अहिले किन सार्वजनिक भयो भन्ने गरेका थिए।
त्यसमाथि छानबिन गरेको रास्वपाले श्रेष्ठले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । त्यही कारबाहीका कारण उनको सांसद पद गयो ।
पछिल्लो समय उनले त्यो बेला आफूलाई मन्त्री बनाउन भन्दै केन्द्रीय सदस्य थापाले ३ करोड रुपैयाँ मागेको दाबी गरेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै रास्वपाले श्रेष्ठमाथि प्रश्न उठाएको छ । थापाले समेत फेसबुकमा स्ट्याटस लेख्दै प्रमाण पुर्याउन श्रेष्ठलाई चुनौती दिएका छन्। उनले श्रेष्ठको आरोप विरुद्ध आफु कानुनी कारवाहीमा जाने चेतावनी समेत दिएका छन्।