टाइम म्यागजिनको १०० उदयीमान व्यक्तिको सूचीमा बालेन्द्र साह
काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह प्रतिष्ठित टाइम म्यागजिनको ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा परेका छन्। म्याग्जिनले यसवर्षका सय उदयीमान व्यक्तिको सूचीमा बालेन्द्रको पनि नाम समावेश गरेको छ ।
सन् २०१५ (विसं. २०७२) को विनाशकारी भूकम्पका बेला बालेन्द्रले जनताका साना तथा अत्यावश्यक आवश्यक्ता समाधानमा जोड दिएको उल्लेख गर्दै फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षणमा साहले योगदान दिएको बताएको छ ।
‘शक्तिमा पुगेदेखि साहले ल्यान्डफिल साइट प्रयोग गर्न अधिकारीसँग सम्झौतामा हस्ताक्षर गरेका छन् । साथै, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने घोषणा पनि गरेका छन’ टाइम म्यागजिनका लागि आस्था राजवंशीले लेखेकी छन् । सहरका गैरकानूनी संरचना भत्काएर आफ्ना प्रतिबद्धताको कार्यान्वयनमा बालेन अघि बढेको भन्दै म्यागजिनले प्रशंसा समेत गरेको छ ।
‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजिनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ । ‘गत वर्षको स्थानीय चुनावमा यी स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञमाथि विजय हासिल गरे’ म्यागजिनले लेखेको छ ।
टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।