News

जनयुद्धका सहयात्री प्रचण्ड र बाबुराम सँगै विदेश भ्रमणमा

जनयुद्धका सहयात्री प्रचण्ड र बाबुराम सँगै विदेश भ्रमणमा

१२ वर्षे जनयुद्धका सहयात्री प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सँगै विदेश भ्रमणमा निस्कन लागेका छन् । 

प्रधानमन्त्री दाहाल आज साँझ ६ बजे कतार एअरलाइन्सको फ्लाइटबाट अमेरिकाको न्युयोर्क जानेछन्। १८ देखि २६ सेप्टेम्बरसम्म न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपालका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेका हुन्। 

भ्रमण टोलीमा प्रधानमन्त्रीको सचिवालयबाट पाँच जना र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता हुनेछ। प्रधानमन्त्रीको सचिवालयबाट स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदीपराज वन्त र दुईजना सुरक्षा गार्ड रहेका छन्।

महासभाको ७८ औं सभालाई प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनेछन्।

महासभा चलिरहँदा प्रधानमन्त्री दाहालले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता गर्नेछन्। उनी, असोज ५ गते अमेरिकाबाट सीधै चीन जानेछन्।

यता, पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराई आजै भारत जाँदैछन्। पार्टीको प्रवास कमिटीको निमन्त्रणामा भट्टराई ७ दिने भ्रमणका लागि उनी भारत जान लागेका हुन् ।

भारत बसाईका क्रममा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ। उनी असोज ५ गते स्वदेश फर्कनेछन्।
 

विशेष