News

आन्दोलनमा जलेर घाईते भएको भिडियो देखाएर ‘आत्मदाह’ को प्रचार गर्नेलाई कारबाही गरिने

आन्दोलनमा जलेर घाईते भएको भिडियो देखाएर ‘आत्मदाह’ को प्रचार गर्नेलाई कारबाही गरिने

गुल्मीमा आन्दोलनका क्रममा दुर्घटनावस आगो लागेर घाईते भएका ब्यक्तिको फोटो सामाजिक सञ्जालमा अपलोड गरी आत्मदाह गरेको भन्दै भ्रमपूर्ण हल्ला फैलाउनेलाई गुल्मी प्रहरीले कारवाही गर्ने गर्ने भएको छ। 

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न माध्यमबाट आत्मदाहको गलत प्रचार गर्नेहरूलाई कारबाही अगाडि बढाएको हो ।

केही दिनअघि गुल्मी अस्पतालमा उपचारका क्रममा अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ७ भगवती काउलेकी ६ वर्षीया बालिका प्रशंसा मरासिनीको मृत्यु भएको थियो।  चिकित्सकको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका थिए।

अस्पताल र प्रशासनपरिसरमा नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिएको थियो। त्यसक्रममा गाडीको टायरमा पेट्रोल खन्याई आगो लगाउने क्रममा जलेर तीन युवा घाइते भएका थिए । तीमध्ये एकजनाको अवस्था गम्भीर छ । 

एक्कासि आगो शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका– ७ का सागर र लक्ष्मण पाण्डेय तथा वडा नम्बर ८ का कृष्ण पौडेल जलेर घाइते भएका हुन । सोही भिडियोलाई सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले समेत पेजमार्फत ‘न्याय नपाएपछि युवाले गरे आत्मदाह’ भन्दै गलत प्रचार गरेका थिए ।

जसका कारण बुधबार प्रहरी र प्रशासनले निकै हैरानी भएका थिए। गृह मन्त्रालय, प्रहरीका माथिल्ला निकायदेखि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले समेत भिडियोका विषमा चासो देखाएका थिए ।

प्रशासनकै अगाडि आत्मदाहको गतल समाचार बाहिरिएपछि निकै तानावपूर्ण अवस्था आएको सहायक सीडीओ हरिप्रसाद गैरेले गुनासो गरे । गलत प्रचार गर्नेहरूलाई निगरानी गरेर कारबाही गर्न प्रहरीलाई निर्देशन गरिएको उनले जनाए।

निगरानीका क्रममा सैपाल एफएम बझाङको पेज, वीर गोर्खाली टिभी र गुल्मीकै व्यवसायी अर्जुन कार्कीले युवा जलेको भिडियोलाई अतिरञ्जित गरेर ‘आत्मदाह’ भनेर गलत प्रचार गरेको प्रहरीले जनाएको छ। 

विशेष