News राजनीति

सरकारको काम चित्तवुझ्दो नभएको शेखर समुहको निस्कर्ष

सरकारको काम चित्तवुझ्दो नभएको शेखर समुहको निस्कर्ष

नेपाली कांग्रेसको इतर समुहका नेता शेखर कोइराला पक्षले वर्तमान सरकारले चित्तबुझ्दो काम गर्न नसकेको निस्कर्ष निकालेको छ। यो समुहले वर्तमान माओवादी नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको हो।

केन्द्रीय कार्यसमिति बैठकको तयारीका सन्दर्भमा कोईरालाले बालुवाटारस्थित आफनो सम्पर्क कार्यालयमा बोलाएको भेलाले सरकारको काम चित्त बुझाउने खालको नभएको भन्दै केन्द्रीय समिति बैठकमा त्यसबारे कुरा उठाउने निर्णय गरेको जनाईएको छ।

कोइरालानिकट केन्द्रीय सदस्य एवम् सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकारप्रति चित्त बुझाउने आधारहरू नरहेको निष्कर्षमा पुगेको बताए । ‘सरकारका गतिविधिमा चित्त बुझाउने अवस्था छैन । सरकारमा हाम्रो नेतृत्वमा छैन, तर सरकारमा हाम्रो पार्टी पनि सहभागी छ, त्यसैले सरकारले गरेका कामलाई नजिकबाट निगरानी र नियन्त्रण हाम्रो दायित्व हो,’ उनले भने।

सरकारले जनताको दैनिकीलाई छुन नसकेको भन्दै उनले सरकारका काम, सरकारले लिइरहेका निर्णयहरू ठीक छैनन् भन्ने वैठकले निकालेको वताए। उनले भने–‘हामी यसबारे पार्टीको केन्द्रीय समिति बैठकमा कुरा उठाउँछौँ ।’

गुटको बैठकमा नेता कोइरालासहित पार्टीका उपसभापति एवम् कानूनमन्त्री धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसहितका नेता सहभागी थिए । यसअघि आमनिर्वाचनमा पार्टीबाट बागी उम्मेदवार बन्दा पार्टीबाट निष्कासित भएका केन्द्रीय सदस्य दिनेश कोइरालासमेत मंगलबारको बैठकमा सहभागी थिए ।

वैठकमा महामन्त्री विश्वप्रकास शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेललाई पनि वोलाईएको थियो। तर, उनीहरुले उपस्थिती जनाएनन्।
 

विशेष