News

रुपन्देहीमा ग्याङ फाईट हुँदा १ जनाको मृत्यु, १३ जना पक्राउ

रुपन्देहीमा ग्याङ फाईट हुँदा १ जनाको मृत्यु, १३ जना पक्राउ

रूपन्देहीमा गएराति दुई समूहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ। झडपमा परी तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

तिलोत्तमा ९, केउलानीमा विभिन्न जिल्लाबाट आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो। प्रहरी कार्यालय बुटवलका डीएसपी दानबहादुर थापाका अनुसार होटलमा बसी मदिरा सेवन गरिरहेका उनीहरूबीचमा सामान्य विवादमा झडप भएको हो। 

झडपमा परी हेटौडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङताङको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो।

झडपमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्। भैरहवा मेडिकल कलेजमा उपचार भइरहेका तीन जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको डीएसपी थापाले जानकारी दिए।

झडपमा संलग्न रहेको आशंकामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ।
 

विशेष