News कभर स्टोरी

दीपशिखाले भने: आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई पिडा नदिनुस्

दीपशिखाले भने: आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई पिडा नदिनुस्

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेपालका राजदूतलाई सहयोग गर्न औषधि ल्याउँदा पिडा नदिन अनुरोध गरेका छन् । 

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो । दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए ।  राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ ।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन ।

इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए ।

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियामै रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ ।

मङ्गलवार दिउँसो एक प्रेस नोट जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको जानकारी गराइएको छ,’ प्रेस नोटमा भनिएको छ ।

दीपशिखाले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्, ‘अन्जानबस डाक्टरको प्रिस्किप्सन म सँग नभएकोले कोरियन सरकारको भन्सारले प्रिस्किप्सन सहित अन्य आवश्यक डकुमेन्ट मागेकोले राजदूतावासले मागेका डकुमेन्टहरू बुझाई सकेको छ । भन्सारको भेरिफिकेशन नसकिएसम्म मलाई कोरियाबाट नेपाल फर्कन नदिएको सत्य हो । नजरबन्द, गिरफ्तारी केहिपनि होइन, उनले थपेका छन्, ‘नियत बस कुनै कमजोरी नगरेको कारण चाडै नेपाल फर्कनेमा विश्वस्त छु । आफ्नै देशको बिमार राजदूतलाई सहयोग गर्दा मलाई परेको अप्ठ्यारोप्रति विवेक पुर्याईदिन र पीडित मलाई थप पिडा नदिनुहुन नेपाली मिडिया, सामाजिक सञ्जालका साथीहरूमा अपिल गर्दछु ।’ 

 

 

विशेष