News अपराध सुरक्षा

स्कारपियो किन्न माईतीबाट १० लाख दाईजो नल्याएको रिसमा श्रीमतीको हत्या

स्कारपियो किन्न माईतीबाट १० लाख दाईजो नल्याएको रिसमा श्रीमतीको हत्या

गाडी किन्न १० लाख रुपैयाँ दाइजो नल्याएको भन्दै पत्निको हत्या गरेको आरोपमा सुनसरीको इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको छ। भनेको नमाने ‘तेरो नाम मेटाईदिन्छु’ भन्दै यातना दिने गरेका नगेन्द्रले नै श्रीमतीको हत्या गरेको प्रहरीको आरोप छ।

थप दाइजो नल्याएको भन्दै नगेन्द्रले शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका बुबा विष्णु चौधरीले जाहेरी समेत दिएका छन्। नगेन्द्र र विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा) ले २१ महिना अघि विवाह गरेका थिए। उनीहरुका ११ महिनाको छोरा छन् ।

निकिताकी आमा सरिताले गत शनिबार राति साढे नौ बजे नाति हेर्न भिडियोकलमा कुरा गरेकी थिइन् । भिडियोकलमा कुरा गर्दा निकिताले ज्वाईंसँग दाइजोको निहुँमा आफ्नो झगडा भइरहेको सुनाउँदै आइतबार बिहान माइत आउने बताएकी थिइन् ।

सरिताले भनेकी छिन्– त्यसबेला ज्वाईंले निकितालाई दाइजोको कुरा निकालेर हप्कीदप्की गर्दै थिए । उनले माइत आउन निकितालाई ४ हजारको सारी किनिदिएका रहेछन् । त्यो सारी देखाउँदै ‘तेरा बाउ’ ले चार हजारको सारी अहिलेसम्म देखेको छ भन्दै कराउँदै थिए ।

‘भनेअनुसारको काम नगरे निकिताको नाम नै मेटाइदिने धम्की दिँदै थिए ।’ त्यसको डेढ घण्टापछि नै नगेन्द्रका आफन्त कसैले निकिताले झुन्डिएर आत्महत्या गरेको र कसैले बाथरुममा लडेर मृत्यु भएको भन्दै खबर पठाएका थिए ।

जानकारी अनुसार टाउको र अनुहारबाट रगत बग्दै गरेको अवस्थामा निकितालाई उपचारका लागि इनरुवा अस्पतालमा लगिएको थियो। इनरुवा अस्पतालले विराटनगर रिफर गरेको थियो । विराटनगरको विराट शिक्षण अस्पताल लगेको केही समयमा नै चिकित्सकले निकितालाई मृत घोषणा गरेका थिए ।


निकिताका बुबा विष्णुका अनुसार विवाह भएको केही महिनापछिदेखि नै नगेन्द्रले निकितालई थप दाइजोका नाममा मानसिक र शारीरिक यातना दिँदै आएका थिए । दाइजोकै निहुँमा निकिताको हत्या भएको उनको दाबी छ । निकिताको टाउको, अनुहार र घाँटीमा गहिरो चोट लागेको पनि उनले वताएका छन्।

विवाहमा नगेन्द्रलाई ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र मोटरसाइकल दिईएको थियो। यतिमात्रै होईन, केटापटीको सबै विवाह खर्च पनि आफैंले बेहोरेको उनले बताए। पछिल्लो पटक उनले स्कोर्पियो गाडी किन्ने नाममा थप १० लाख रुपैयाँ दाइजो माग्दै आएका थिए । थप दाइजोका नाममा त्यत्रो रकम बुबा–आमाले दिन नसक्ने निकिताले जवाफ दिँदै आएकी थिइन् ।

नगेन्द्रले निकितासँग विवाह गर्न इनरुवा नगरपालिकाको विद्युत् शाखाको इन्जिनियर भएको र आफ्नो जागिर स्थायी भएको बताएका थिए । विवाहपछि उनी इन्जिनियर नभई विद्युत्को पोलमेन भएको र उनको जागिर स्थायी नभई करार सेवा भएको र नगरपालिकाले करार नवीकरण नगर्दा जागिर गएको भन्ने पोल खुलेपछि निकितासँग झगडा सुरु भएको थियो।

सुनसरीका एसपी विपिन रेग्मीले थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि नगेन्द्रलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताए।
 

विशेष