News राजनीति

शेखर कोईरालाले बोलाएको गुटको वैठकमा विश्वप्रकाश र प्रदिप पौडेल किन गएनन् ?

शेखर कोईरालाले बोलाएको गुटको वैठकमा विश्वप्रकाश र प्रदिप पौडेल किन गएनन् ?

इतर समुहका नेता डा. शेखर कोइरालाले मंगलबार बोलाएको गुटको वैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल अनुपस्थित भएका छन्। वैठक बालुवाटारमा सुरु भएको छ।

सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेदेखि सुरु भएको बैठकले आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमितिमा एकजुट भएर प्रस्तुत हुने गरी रणनीति बनाउने योजना छ। बैठकमा सहभागिताका लागि महामन्त्री शर्मा र केन्द्रीय सदस्य पौडेललाई पनि बोलाइएको थियो। तर, दुवैजना नेताहरु यो बैठकमा सहभागी भएनन्।

प्रदीप पौडेल मंगलबार नै चीन जाँदैछन् भने महामन्त्री शर्मा पनि पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि बोलाइएको गुट बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्।

शर्मा कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्। शर्माले यसअघि कांग्रेस संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए।

उता चीन जाँदै गरेका पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौलाका तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो। 

पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्। 

विशेष