अख्तियारले मुद्दा चलाए पशुपति मन्दिरभित्रै आत्महत्या गर्ने सदस्य सचिवको घोषणा (निवेदनसहित)
मुद्दा मिलाउन अख्तियारका कर्मचारीले घुस मागेको आरोप

पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको जलहरीमा भएको भनिएको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्ने तयारी गरेपछि पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव डा मिलकुमार थापाले मन्दिर परिसर भित्रै आत्महत्या गर्ने चेतावनी दिएका छन्।
अख्तियारले पूर्वाग्रहीपूर्ण ढंगले मुद्दा दायर गर्ने तयारी गरेको दावी सहित सदस्यसचिव थापाको अगुवाइमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयमा दिईएको निवेदनमा यस्तो चेतावनी दिईएको छ।
मंगलबार दिईएको निवेदनमा सत्यतथ्य छानबिनको माग गर्दै आयोगले सबैको रोहबरमा जोख्दा सुन पुगेपनि पुनः मुद्दा दर्ताको तयारी गरेको भन्दै आपत्ति जनाईएको छ। जलहरीको विषयमा पशुपति क्षेत्र विकास कोषकै कर्मचारीहरु, अन्य पूर्व पदाधिकारीहरु तथा माफियाहरुको स्वार्थ नमिल्दा उजुरी हाल्ने काम भइरहेको थापाले निवेदनमा जिकिर गरेका छन् । यो प्रकरणलाई संसदीय समिति मार्फत छानबिन गर्न थापाले माग गरेका छन्।
अख्तियारले ०८० असार १० गते जोख्ने र सुनको शुद्धता परीक्षण गर्दा नेपाल राष्ट्र बैंकबाट खरिद गरिए अनुसारको तौल र शुद्धता पुगेको तर, हाल अनुचित ढंगबाट वयान लिने, वयानका प्रश्नहरुमा सुन हराएकोले किन कारबाही नगर्ने ? किन मुद्दा दायर नगर्ने ? भन्दै मानसिक रुपमा तनाव दिने कार्य गरेको उजुरीमा उल्लेख छ ।
निवेदनको पेज नं. ७ र ८ मा भनिएको छ–‘यो अपिल सदस्य सचिव पद जोगाउनका लागि मात्र होईन, यो आत्मसम्मान, न्याय र स्वाभिमानका लागि अपिल गरेको गुनासो हो । यसरी राज्यले सेवकलाई निरुत्साहित गराउने हो भने आगामी समयमा देशभक्त कर्मचारीहरु तथा राजनितिक नियुक्ती पाएका देशका सेवकहरुको मनोवल गिर्छ र राज्यका कारण नै नागरिकहरुले आत्मदाह र जीवन प्रति नै निराश हुन पर्ने स्थिति आएको छ । म आफू पनि यही सोचिरहेको छु कि यदि गलत नगर्दा नगर्दै राज्यले मलाई दण्ड दिने कार्य गर्यो भने न्याय पाईन भने र यसै कारण अन्य विषयमा समेत बदलाको भावनाले मलाई फसाईयो भने, पशुपतिनाथकै मन्दिर भित्रै मेरो प्राण त्याग्ने विकल्प छैन । यदि यसो गर्दा गर्दै पनि मलाई आत्मसम्मान र मौलिक हकमा ठेस लाग्ने गरी कारवाही गरेमा मलाई प्राण त्याग गर्न बाध्य बनाउनेहरुको नाम सार्वजनिक गर्नेछु ।’
उनले निवेदनका साथमा जलहरी राख्ने विषयमा गरिएको बैठकको माइन्यूट, नेपाल राष्ट्र बैंकसंग खरिद गरिएको बिलहरु र सम्झौता, सुरक्षाका लागि नेपाली सेनासंग अनुरोध गरेको पत्र, आयोगमा पठाएको सुनको धुलोको मुचुल्का, आयोगमा सुनको धुलोको परिमाणको जानकारी गरिएको पत्र, आजसम्म गरेका कामहरुको विवरण, न्यायका लीग अपिल गरिएको चित्र, सुनचाँदी रत्न आभुषण महासंघका अध्यक्षले आयोगमा बुझाएको भ्रमपूर्ण प्रतिवेदन, महासंघका अध्यक्षसंग अनौपचारिक गफ गरेको आवाजको रेकर्ड (पेन डाईभ) पेनड्राईभ समेत वुझाएका छन्।