News अपराध सुरक्षा

संविधान दिवसमा टिकापुर घट्नाका तीन जना कैदीलाई सजाय मिनाह

संविधान दिवसमा टिकापुर घट्नाका तीन जना कैदीलाई सजाय मिनाह

सरकारले संविधान दिवसको अवसर पारेर कैद मिनाहा गरेका ६७० कैदी मध्ये ३ जना टीकापुर घटना मुद्दा खेपिरहेका पनि परेका छन्। उनीहर कैलाली काराबारबाट रिहा हुने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटनाका ३ जना रिहा हुन लागेका हुन।

टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए।

उनीहरू ८ वर्षदेखि जेलमा थिए। त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ ।

यसअघि सोही मुद्दाका रेशमलाल चौधरी रिहा भएका थिए । तीनै तहको अदालतबाट मुख्य अभियुक्त भन्दै अपराधी करार गरिसकेपछि गणतन्त्र दिवसको अवसरमा उनलाई जेठ १५ गते कैद मुक्त गरिएको थियो।

संविधान लेखनका क्रममा कैलालीमा भएको आन्दोलनका क्रममा ०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुर घटना भएको थियो। त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल र एउटा एफएममा आगजनी भयो ।

सोही घटना मुद्दामा प्रहरीले लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरीसहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । 

२७ जनामध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागा सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए ।

त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ ।

सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो ।

यस्तै, सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०–२० वर्ष कैद सजाय भएको थियो।

तर, सरकार वचाउने र पदमा टिकिरहने गलत राजनीतिका कारण राजनीतिक सहमति गरी उनीहरुलाई क्रमशः सरकारले रिहा गर्दै आएको छ। 
 

टिकापुर घट्ना

विशेष