News

काम नगर्ने ठेकेदारका निर्माण सामग्री नगरपालिकाको कब्जामा

काम नगर्ने ठेकेदारका निर्माण सामग्री नगरपालिकाको कब्जामा

खोटाङमा सडक निर्माणको जिम्मा लिएर काम नगर्ने ठेकेदर कम्पनीका निर्माण सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको छ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काम अलपत्र छाड्ने निर्माण कम्पनीको सामग्री मंगलबार नियन्त्रणमा लिएको हो ।

दिक्तेल–खोटाङ बजार सडकअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको सडक स्तरोन्नतिको ठेक्का लिएर अलपत्र पार्ने ढुकुछु÷बगाले÷बीएन्टी जेभीको औजार÷उपकरण नियन्त्रणमा लिइएको नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले वताए।

वडा नं. ५ लफ्याङका वडाध्यक्ष समेत रहेका घिमिरेका अनुसार एउटा स्काभेटर, दुईवटा टिपर, एउटा रोलर र ग्रेडर नियन्त्रणमा लिएको हो । यी उपकरणमध्ये ग्रेडर भगाउँदै गरेको अवस्थामा वडा नं. ७ दोर्पाचिउरी डाडाँको ढिकुरेबाट नियन्त्रणमा लिएको घिमिरेले बताए ।

यो कम्पनीको उपकरण २०७९ कात्तिक २० गते पनि नगरपालिकाले नियन्त्रणमा लिएको थियो । फेरि पनि कामै नगरी भाग्न खोजेपछि पुनः नियन्त्रणमा लिइएको घिमिरेले बताए ।

निर्माण कम्पनीले काम गर्ने प्रतिबद्धता जनाएपछि उपकरणमा लगाएको ताला खोलिएको घिमिरेको भनाइ छ । 
 

विशेष