News अपराध सुरक्षा

जन्मकैदको सजाय तोकिएका गुण्डा नाईकेको ६० प्रतिशत सजाय माफ, जेलबाट निस्कँदा तरुण दलको स्कर्टिङ

जन्मकैदको सजाय तोकिएका गुण्डा नाईकेको ६० प्रतिशत सजाय माफ, जेलबाट निस्कँदा तरुण दलको स्कर्टिङ

कर्तब्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाईएका नेपालगञ्जका गुण्डा नाइके तथा तत्कालिन तरुण दलका क्षेत्रिय सभापति रिगल भनिने योगराज ढकाललाई सरकारले ६० प्रतिशत सजाय मिनाहा गरेर जेल मुक्त गरेको छ।

जन्मकैदको सजाय सुनाइएका ढकालको ११ वर्ष कैद मिनाहा गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसमा जेल मुक्त गरेका हुन। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार कैद भुक्तान हुन बाँकी ६७० जनाको कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।

त्यो निर्णयपपछि दाङको घोराही कारागारमा रहेका रिगल थुनामुक्त भएको जेलर लक्ष्मणसिंह राठौरले बताए । 

तरुण दल बाँके क्षेत्रनम्बर–३ का तत्कालिन क्षेत्रीय सभापति रहेका ढकालको योजनामा ०७२ असार २८ गते नेपालगञ्जमा खुँडा प्रहार गरी चेतन मानन्धरको हत्या गरिएको थियो। भारतबाट अवैध रुपमा सञ्चालन हुने बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए ।

हत्यापछि बाँके प्रहरीका तत्कालिन एसपी बसन्त पन्तले घट्नामा रिगल नै मुख्य योजनाकार भएको खुलाउँदै पक्राउ परेका ११ जनालाई सार्वजनिक गरेका थिए। रिगल भने फरार थिए। पक्राउ परेकाहरुको साथबाट ४ वटा खुँडा र दुई वटा मोटरसाइकल बरामद भएको थियो।

रिगलले नेपालगञ्जको सुर्खेत रोडमा एक होटलमा मानन्धरलाई कुरेर बसेका थिए । होटल नजिकै मानन्धर एक्लै आएको अवस्थामा खुँडा प्रहार गरेर उनको हत्या गरिएको प्रहरीको अनुशन्धानमा देखिएको छ।

लामो समय फरार भएका उनी ०७२ भदौ ७ गते अदालतमा आत्मसमर्पण गर्न पुगेका थिए। बुधबार ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा स्वागतमा तरुण दलका कार्यकर्ताहरुको कारागार बाहिर भिड लागेको थियो । उनी तरुण दलका कार्यकर्ताहरुको स्कर्टिंङमा बाहिर निस्किएका थिए। 
 

गुण्डा नाईके

विशेष