News

५ सय करोडको सम्पतिमा केही अभियन्ताको गिद्देनजर, छायाँ सेन्टर बिरुद्द मिडिया ट्रायल

छापामार शैलीमा छायाँ सेन्टरमाथि आक्रमण, के पुँजीपतिको संरक्षण होला नेपालमा?

५ सय करोडको सम्पतिमा केही अभियन्ताको गिद्देनजर, छायाँ सेन्टर बिरुद्द मिडिया ट्रायल

सर्वोच्च अदालतमा सार्वजनिक सरोकार, लिखत बदर, गुठी रैतानी बदर, नक्सा पास बदर र लिखत धितोसमेत बदर माग गर्दै दायर गरिएको एउटा मुद्दा छ। यसलाई साँच्चै भन्ने हो भने मुद्दाहरुको संग्रह भन्दा पनि फरक पर्दैन।  

यो मुद्दाको विजारोपण ०७१ सालदेखिको सुरु भएको हो। अधिवक्ता दीपक मिश्र र अधिवक्ता रामहरि श्रेष्ठ समेतले ०७१ बैसाख र असोजमा मुद्दा दायर गरेर मुद्दाको विऊ छरे। यही विवादमा गुठी लिखत बदर नक्सा बदर माग गर्दै भागवत नरसिंह प्रधानले पनि ०७३ असोज २ गते अर्को मुद्दा हाले।    

यो मुद्दामा प्रतिमा पाँडे/छायाँदेवी कम्प्लेक्स प्रा.लि., शंकरप्रसाद शाह, काठमाडौं, महानगरपालिका, गुठी संस्थान केन्द्रीय कार्यालय, सुरेशाय हाउजिङ्ग कम्पनी प्रा.लि/अम्बीका राणा लगायतलाई प्रतिवादी बनाईएको छ।

यो मुद्दामा हालसम्म ३३ ओटा तारेख र १५ ओटा पेसी तोकिसकिएको छ। तर, मुद्दाको छिनोफानो भएको छैन। अर्कोतर्फ जब जव अदालतमा पेसी तोकिन्छ, अनि आफुलाई अभियन्ता बताउने ब्यक्तिहरुको झुण्ड छायाँदेवी कम्प्लेक्सको अगाडि जम्मा हुन्छ र तमासा सुरु गर्छ। मिडियाबाजी गर्नेदेखि सामाजिक सञ्चालमा होहल्ला मच्चाउनेसम्मका सवै हर्कत गरिन्छ।

अर्को आश्चर्यको कुरा त के छ भने छाँयादेवी लगायत त्यहाँका सम्पूर्ण ब्यापारिक प्रतिष्ठान खरानी वनाउनु पर्छ भन्दै आउने त्यो समुह स्थानीय भने होईन। भक्तपुरदेखि गाडीका गाडी मान्छे ओसारेर नाराजुलस गर्ने गरिएको छ। यो सवै प्रकरणका पछाडि विलासी जीवन शैली भएका तानासाहको देश उत्तर कोरियाको जस्तै राज्यब्यवस्था बनाउनुपर्छ भन्ने सोच राखेको एउटा पार्टीका केही नेता÷पदाधिकारीहरुले संलग्न छन्। यसका कतिपय सूचना नेपाल आजलाई प्राप्त भएको छ।

मिडिया ट्रायल  

०८० असोज ७ गते आईतबार फेरी यो मुद्दाको पेसी तोकिएको छ। त्यसको दुईदिन अघि अर्थात असोज ५ गते शुक्रबार भक्तपुरबाटै निस्कने एउटा पार्टीको मुखपत्र ‘मदजुर दैनिक’मा समाचारको आबरणमा एउटा सूचना निस्कियो। समाचारकोे शीर्षक छ–‘छायादेबी कम्पेक्स भबन भत्काउनु पर्ने – आज काठमाण्डुमा जुलुस तथा सभा हुने।’  शुक्रबारनै कबिन्द्र डंगोलले नेतृत्ब गरेर करिब ५० जानाको संख्यामा छायाँ सेन्टरमा केहि व्यक्ति आउँछन। नाराजुलुस र होहल्ला गर्छन। यति मात्रै होई उक्त समुहलाई डंगोलले सम्बोधन पनि गरेका छन्। 

तर उनले गरेको सम्बोधनको विवरण बिहान नै पत्रिकामा समाचार मार्फत प्रकाशन भैसकेको छ। मजदुर दैनिक नेपाल मजदुर किसान पार्टीको मुखपत्र हो।  नाराजुलुस र होहल्लामा सहभागि भएका ब्यक्तिहरु खाजा खुवाउने र जनही ५०० दिने सर्तमा ल्याईएको समेत खुलेको छ। एक सहभागीले नै यो तथ्य नेपाल आजलाई जानकारी गराएका छन्, तर उनले आफनो नाम भने सार्वजनिक नगरिदिन आग्रह गरे।

जनजाती वकिल संघका सचिव समेत रहेका शंकर लिम्बुले लाजै पचाएर छायाँदेवी कम्प्लेक्सका वारेका पोष्टहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन्। ‘अदालतमा विचाराधिन मुुद्दालाई प्रभावित गर्ने क्रियाकलाप गर्नु हुदैन’ भन्ने कुराको समेत हेक्का नराखी उनी स्वयम मिडिया ट्रायलमा उत्रिएका छन्।

स्थानीयका अनुसार पेसी नजिकिएपछि अदालतलाई प्रभावित गर्न उनै लिम्वुको योजनामा हरेक पटक यसैगरी तमासा गर्ने गरिएको छ। 

को को छन् समर्थक ?
शुक्रवारको कार्यक्रममा शैलेश डंगोल नामका ब्यक्ति उदघोषक थिए भने आफुलाई सम्पदाप्रेमी समाज नेपालको अध्यक्ष बताउँने कबिन्द्र डंगोल मुख्य बक्ता । उनले छायाँ सेन्टर अगाडि गएर सवैलाई पाँडेगाली गरे। यस वाहेक यो मुद्दाका वादी एवम् विक्रमशील महाविहार, भगवानबहालका संरक्षक भागवत नरसिंह प्रधान, अभियान्ताहरु प्रेमराज सिल्पकार, राजाराम तन्डूकार, मनिष मानव र शंकर लिम्वु छायाँदेवी कम्प्लेक्स भत्काउने अभियानमा लागेका छन्।

स्रोतका अनुसार यी छ भाईको काम भनेकै छायाँ सेन्टर भत्काउने सपना बाड्ने, मान्छे उचालेर हो–हल्ला मच्चाउने र त्यसको आवरणमा लोकल क्लब र सामाजिक संस्था पठाएर असामाजिक तरिकाले बार्गेनिङ गर्ने हो।

छायाँसेन्टरलाई राजनीतिक समर्थन

यो कम्प्लेक्स २०७५ पुस १० गते नेकपा एमालेका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उदघाटन गरेका हुन। यस वाहेक प्राय सबै प्रमुख राजनैतिक दलको सर्थन छायाँ सेन्टरलाई छ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राप्रपा लगायत राजनैतिक दलका नेता, कार्यकर्ता र उनीहरुको परिबारका सदस्य छायाँ सेन्टरमा गएर रमाउँछन।

सर्वसाधारण पनि त्यहाँ गएर रमाउछन। हेर्दा लाग्छ, छायाँ सेन्टरलाई प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा निकै ठुलो शक्तिको आड छ। त्यसका विपरित उपत्यकाको एउटा कुनामा मौलाएको सानो कम्युनिस्ट पार्टी, केहि अभियन्ता र केहि धनाड्य यो सेन्टर भत्काउने सपना देखिरहेका छन्। ‘तर, उनीहरुको सपना कहिलै पुरा हुँदैन’ एक स्थानीय भन्छन्–‘खाएको विष पो लाग्छ, नखाएको विस कसरी लाग्छ ?’

बादीको डबल स्टेण्डर 

भागवत नरसिंह प्रधान विक्रमशील महाविहार, भगवानबहालका संरक्षक तथा अनुसन्धानकर्ता हुन। महाविहार भनेको ठुलो स्थान हो। यसको सम्पति धेरै थियो। तर, अहिले सबै सम्पत्ति व्यक्तिको नाममा गईसकेको स्थानिय हरु बताउछन। महाविहारको नाममा अहिले छायाँ सेन्टर अगाडि केहि आना जमिन मात्रै बाँकी छ।

‘विक्रमशील महाविहारको जग्गमा रहेको ब्यक्तिगत सम्पति किन नभत्काउने? राणाजीले बेचेको जग्गामा रहेको व्यक्तिगत सम्पति भत्काउनु पर्दैन?’ प्रधानको विरोध गर्दै एक स्थानियले भने–‘भएको सम्पत्ति वेचेर खाने, अहिले आएर तिनै जग्गावालालाई दागा धरेर खरानी बनाउँछु भन्नु कहाँको न्याय हो ?’

जानकारी अनुसार विक्रमशील महाविहार, भगवान बहाल गुठीको ५ हजार रोपनी भन्दा धेरै जग्गा थियो। यसको अपचलन गर्नेमा भागवत नरसिंह प्रधान पनि पर्छन। ठमेलदेखि मनमैजुसम्म फैलिएको गुठीको सम्पति अपचलन गर्ने प्रधानकै परिवार भएको स्रोत वताउँछ। तर उनको ध्यान अहिले छायाँ सेन्टरमा मात्र छ।  

छापामार शैलीमा आक्रमण

जनयुद्दको समयमा माओवादी छापामारहरुले एक ठाउमा बम बिस्पोट गर्थे। बैंक लुट्थे, ब्यापारीलाई तर्साउथे। गणतन्त्र आएपछि अहिले केहि उग्रकम्युनिस्टहरुले सम्पदा संरक्षणका त्यही शैली अपनाएका छन्।

नाराजुलुस र मुद्दाको वम पड्काएर पुजिपतिलाई तर्साउने, ब्यबसायिक बाताबरण विगार्ने धन्दामा उनीहरु सकृय भएर लागेका छन्। त्यो पनि आर्थिक मन्दीको कहाली लाग्दो अवस्थामा ।

छायाँ सेन्टरको भव्यता 

मिनी ठमेलको रुपमा चिनिने छायाँ सेन्टरभित्र पाँच तारे होटल अलफ्ट पनि छ। यसमा तीन वटा मल्टिप्लेक्स थिएटर, एयरलाइन्स, ट्राभल एजेन्सी, ब्याङकेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबका साथै बैंकका शाखा, कर्पोरेट कम्पनीका कार्यालय, स्थानिय बजार, क्यासिनो, सपिङ्ग स्टोर लगायतका कयौं सुविधा छन् ।

पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको सेन्टर निर्माणको लागि ५ अर्वको लागत खर्चिएको छ। ३ सय वटा भन्दा बढि गाडी पार्किङ गर्न मिल्ने यस कम्पलेक्सको निर्माण कार्य सन. २०१३ बाट सुरु भएको थियो । 

अहिले आएर अभियानका नाममा केही ब्यक्तिहरु छायाँ सेन्टर भत्काउने सपना देखिएरहेको स्थानीयको आरोप छ। अभियानलाई समर्थन गर्ने केहि नगन्य संख्यामा रहेका उच्चबर्गका मान्छे र अति उग्रबादी कम्युनिस्ट नेता बारेको सामग्री अर्को श्रंखलामा प्रश्तुत गर्ने छौं।

छाया सेन्टर

विशेष