News खेल

एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालको एकपछि अर्को कीर्तिमान, मंगोलिया २७३ रनले पराजित

एसियाली खेलकुदको क्रिकेटतर्फ नेपालको एकपछि अर्को कीर्तिमान, मंगोलिया २७३ रनले पराजित

चीनको हाङचउमा जारी १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा बुधबार मंगोलियासित २७३ रनले पराजित गरेको छ। उक्त खेलमा नेपाली खेलाडीले एकपछि अर्को कीर्तिमान कायम गरेका छन्।

पुरुष ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यति ठुलो रन अन्तरको यो पहिलो जित हो । मंगोलियाले टस जितेर वलिङ रोजेको थियो। नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले ३ सय रन बनाएको पहिलो पटक हो ।

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा जारी खेलमा नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरु ब्याटरले दोहोरो अंकको रन वनाउन सकेनन्।

बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २÷२ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशलले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। उनीहरुले ३५ बलमै शतक बनाएका थिए ।

मल्ल र ऐरीले आफ्नो अर्धशतक समान १९ बलामा बनाएका थिए । दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्धशतक बनाएर अर्को विश्व कीर्तिमान बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए । मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे ।

यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए । 
 

विशेष