‘बरु सरकार छोड्छु, भ्रष्टाचार विरोधी अभियान छोड्दिन’ पाखण्डी कुरा गरेको ज्ञवालीको आरोप
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधामन्त्री पुष्पकमल दाहाले ‘सरकारबाट हट्नु परे हट्छु तर भ्रष्टाचार विरुद्धको अभियान छोड्दिन’ भन्दै पाखण्डी कुरा गरेको आरोप लगाएका छन्।
बुटवलमा शनिबारदेखि सुरु भएको नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले प्रधानमन्त्री दाहाल नै भ्रष्टाचारीलाई सुनपानी छर्केर चोख्याउने अभियानमा लागेको आरोप लगाए।
मुलुक आर्थिक सङ्कटको बीचमा रहेका बेला प्रधानमन्त्री नै अस्थिरताको खेतीमा व्यस्त भएको उनले बताए। जातीय विद्वेषको आगो लगाउने काममा दाहाल नै लागिरहेको उनको भनाई छ। ‘प्रधानमन्त्री अहिले निकै ठुलो दम्भ गरिरहनुभएको छ । म यो अभियानलाई ज्यान गए पनि छोड्दिन सत्ताबाट हट्नुपरे पनि हटौला, तर यो सबै पाखण्डका रुपामा देखापरेका हुन् ।’– उनले भने।
ललिता निवास प्रकरणमा टिप्पणी उठाउने खरदारलाई जेल कोच्ने तर निर्णय गर्नेलाई सरकारले छुट दिएको भन्दै आक्रोश व्यक्त गरे । ‘उहाँले हिजो भन्दै हुनहुन्थ्यो मेरो ठुलो टेन्सन सकियो, माधव नेपालजीको पनि टेन्सन सकियो’, उनले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै भने, ‘ए पुष्पकमल दाहाल प्रचण्डज्यू ? तपाईंले फेरि जनअदालतको अभ्यास गर्न थाल्नुभएको हो ? नेपालको अदालतले त त्यस्तो भन्दैन ।’
उनले आफ्नै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन नगरेर विपक्षीलाई मात्रै आक्रमण प्रयास गरेको आरोप लगाए ।