News

मणिपाल प्रकरणः ६ बुँदे सहमति गरेको भोलिपल्ट डाक्टर कुट्ने ७ जना पक्राउ

मणिपाल प्रकरणः ६ बुँदे सहमति गरेको भोलिपल्ट डाक्टर कुट्ने ७ जना पक्राउ

डाक्टरमाथि भएको कुटपिट प्रकरणमा ‘सहमति भयो’ भनिएको मणिपाल शिक्षण अस्पताल प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। असोज ८ गते भएको तनावपछि आन्दोलनरत डाक्टरहरुसँग ६ बुँदे सहमति गर्दै बिहीबार समस्या टुंग्याईएको थियो।

तर, प्रहरीले शुक्रबार साँझ ७ जनालाई पक्राउ गरेको छ ।सजित मुल्मी, मनिष थापा, अविनाश गुरुङ, अरुण, नितेश, विवेक र प्रदीप गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐनअनुसार म्याद थप गरेर अनुसन्धान गरिने कास्कीका एसपी मोहन थापाले बताए।

चिकित्सक र आफन्तबीच सहमति भएपछि अस्पताल तोडफोड गर्ने, अपशब्द बोल्ने र गुण्डागर्दी शैली देखाउनेलाई प्रहरीले पक्राउ परेकोे बताइरहेको छ ।

आक्रमण तथा तोडफोड उत्रिएकाहरुलाई पक्राउ नगरेसम्मम केन्द्रमा चिकित्सक र सरकारबीच वार्ता नमिल्ने अवस्था देखिएपछि गृह मन्त्रालयले नै यस घटना अनुसन्धान गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएको जनाईएको छ।

८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी ५७ वर्षीय सुकमाया दुराको मृत्युपछि मणिपालमा झडप भएको थियो। डाक्टरको लापर्वाहीले सुकमायाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि नै हातपात गरेका थिए।

आक्रमणमा संलग्न भएको अरोपमा मालेपाटनका विनय गुरुङ पक्राउ परेका थिए भने आक्रोशित भीड उक्साउने गरी अपशब्द बोल्दै ‘डाक्टर चुटेर आएँ’ भन्ने इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेका छन्। 

विशेष