बालेन्द्रले चुपचाप हटाए ‘सिंहदरवारमा आगो लगाइदिने’ स्ट्याटस, माफी मागेनन्
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरवारमा आगो लगाइदिने भनेर लेखेको फेसबुक स््याटस हटाएका छन्।
मेयर साहले सोमवार सामाजिक सञ्जालबाट सो स्ट्याटस हटाएका हुन्। उनको सामाजिक सञ्जालमा अहिले उक्त स्ट्याटस देखिँदैन।
शनिबार बेलुका साहले ‘आजको लागी केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ भन्दै स्ट्याटस लेखेका थिए।
उनकी श्रीमती सविना काफ्ले सवार गाडीलाई ट्राफिक प्रहरी रोकेको विषयलाई लिएर उनले उक्त स्टटस लेखेका थिए।
तीव्र आलोचना भएपछि उनले आइतबार सचिवालयका तर्फबाट बचाउमा विज्ञप्तिसमेत निकाल्न लगाएका थिए । तर, त्यसमा बालेन्द्रको स्ट्याटसको विषयमा केही कुरा खुलाईएको थिएन।
विज्ञप्तिपछि पनि आलोचना नरोकिएपछि बालेन्द्रले कुनै प्रतिक्रियाबिना आज चुपचाप स्टयाटस डिलिट गरेका हुन। उनले आफ्नो अभिव्यक्तिलाई लिएर क्षमायाचना भने गरेका छैनन्।
बालेन्द्र आज हुने नेपाल र भारतबीचको क्रिकेट हेर्न श्रीलंका प्रस्थान गरिसकेका छन् ।