अण्डाको विषयमा विवाद हुँदा कुटिएका ७० वर्षिय वृद्धको मृत्यु, पति–पत्नि पक्राउ
अण्डाको विषयमा विवाद हुँदा ७० वर्षिय वृद्धलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले मोरङबाट दुई जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–११ बरमपुराका ५१ वर्षीय नरेश मेहता र उनकी श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
हरि कुमाल (७०) लाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच विवाद भएको थियो। विवादले उग्र रुपमा लिए पछि पतिपत्नि मिलेर कुटपिट गरेको पाईएको छ। झगडापछि दुवै पक्ष आ–आफ्नो घरमा गएकोमा हरि कुमालको मृत्यु भएको थियो।
उक्त खबर पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।