News

कोशीको भंगालोमा भेटियो डा. कोइरालाको शव, प्रेममा असफलता नै हो आत्महत्याको कारण ?

अन्तिम पटक कुरा गरेकी युवती प्रेमीका भएको खुलासा 

कोशीको भंगालोमा भेटियो डा. कोइरालाको शव, प्रेममा असफलता नै हो आत्महत्याको कारण ?

कोशी नदीको पुल छेउमा गाडी छोडेर बेपत्ता भएका झापाको दमक नगरपालिका– १ निवासी डाक्टर ३२ वर्षीय प्रज्वल कोइरालाको शब फेला परेको छ। बराहक्षेत्र नगरपालिका –२ स्थित कोशीको भङ्गालोमा उनको शव फेला परेको हो। 

कोशी नदीमा माछा मार्न गएका स्थानीयले नदीको सानो भङ्गालोमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव बेपत्ता डाक्टर कोइरालाको हुनसक्ने आशंकाबीच परिवारका सदस्यलाई खबर गरेको थियो। 

मृतकका बुवा दिवाकर कोइरालाले मृतकको शव सनाखत गरेका छन्। दिवाकरसहित दमक नगरपालिका–१ का वडाध्यक्ष हरिप्रसाद न्यौपाने पनि शव भेटिएको स्थानमा पुगेका थिए। 

१० दिनपछि फेला परेको मृतकको शव परीक्षणका लागि मंगलबार नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत कोईराला भदौ १० गते आइतबार अस्पतालमा बिरामी चेकजाँच गरी बेपत्ता भएका थिए।

उनी चढ्ने १–०२–००२ च ४१६६ नम्बरको कार सुनसरी र उदयपुरको सीमाको कोशी (चतरा) पुलमा भेटिएको थियो। कोशी पुल छेउमा उनी चढ्ने गाडीसहित मोबाइल र पर्स समेत भेटिएको थियो।

प्रहरी स्रोतका अनुसार अन्तिम समयमा कोइरालाले १ जना युवतीसँग संवाद गरेका थिए। ती युवती कोइरालाकी प्रेमिका भएको बताइएको छ। अन्तर्जातिय प्रेम सम्वन्ध असफल भएपछि कोईरालाले आत्महत्याको बाटो रोजेको हुन सक्ने आंकलन गरिएको छ। तर, प्रहरीले यसका कारणका विषयमा अनुशन्धान भईरहेको जनाएको छ।

दमकको लाइफ लाइन अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा लामो समयसम्म जनरल सर्जन भएर काम गरेका ३२ वर्षीय कोइराला बाबु–आमाका एक मात्र छोरा हुन्।
 

विशेष