नेपाल–भारत सम्वन्धका बारेमा नकारात्मक टिप्पणी गर्ने चीनियाँ राजदुतलाई कारवाही गर्न सांसदको माग
नेपालका लागि चिनियाँ राजदूत छोन सङको पछिल्लो अभिब्यक्ति र गतिविधिमाथि सांसदहरुले ब्यापाक रुपमा प्रश्न उठाएका छन्।
फाउन्डेशन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिजले शनिबार काठमाडौंमा आयोजना गरेको ‘विश्व अर्थतन्त्रमा चीन र नेपालमा यसको प्रभाव’ शीर्षकमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्ने क्रममा चिनियाँ राजदूत छोनले भारत र नेपालको व्यापार सम्बन्धमाथि नकारात्मक टिप्पणी गरेका थिए ।
यो अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको भन्दै चिनियाँ राजदूत छोन सङको आलोचना भइरहेको छ । बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरूले राजदूतको आलोचना मात्र गरेनन्, सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको सम्बन्धलाई लिएर तेस्रो मुलुकले चासो व्यक्त गर्दा त्यसले नेपाल अप्ठ्यारोमा पर्ने बताए भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले यस्ता विषयमा चिनियाँ मात्रै होइन, सबै मुलुकका राजदूतलाई सचेत गराउनुपर्ने बताए ।
समिति सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपालको आन्तरिक होस् वा बाह्य सम्बन्ध त्यसमा तेस्रो पक्षको चासो हुन नहुने बताए । एमाले सचिव भीम आचार्यले अभिव्यक्तिको विषयलाई लिएर राजदूतसँग स्पष्टीकरण माग्नुपर्ने बताए ।
राप्रपा महामन्त्री धवलशमशेर राणाले चिनियाँ राजदूतलाई बोलाएर सचेत गराउन सरकारसँग माग गरे भने एमाले सांसद सुनिता बरालले चिनियाँ राजदूतलाई यो बोल्ने ठाउँमा प्रधानमन्त्री पुष्पकमल दाहालले नै पु¥याएको दाबी गरिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि चिनियाँ राजदूत छोनले दिएको अभिव्यक्ति संवेदनशील भएको भन्दै नजरअन्दाज गर्दा थप असहजता सिर्जना हुने धारणा राखे । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजदूतले माफी माग्नुपर्ने बताए ।
सांसद एकनाथ ढकालले राजदूत छोनले पोखरा विमानस्थलको उद्घाटनका क्रममा उक्त आयोजना चीनको बीआरआई अन्तर्गत हो भनी दिएको अभिव्यक्तिबारे पनि स्पष्टीकरण माग्नुपर्ने धारणा राखे ।
यता, प्रतिनिधि सभाको सून्य समयमा वोल्दै लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा)का सांसद सर्वेन्द्रनाथ शुक्लले पनि चिनियाँ राजदूतको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले त्यसबारे परराष्ट्र मन्त्रालयले छिट्टै जवाफ दिनुपर्ने माग गरे। ‘छिमेकी मुलुकको राजदूतको अभिव्यक्तिप्रति घोर आपत्ति गर्न चाहन्छौं। परराष्ट्र मन्त्रालय जुन किसिमले मौन बसेको छ, नोटिसमा लिने तर नबोल्ने स्थिति उचित होइन,’ उनले भने। उनले आपसी समझदारीमा तेस्रो पक्षको हस्तक्षेप सह्य नहुने पनि बताए।