एक महिनापछि रिहा भए व्यवसायी प्रदीप रुङ्गटा
चितवनका पोल्ट्री व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहनको आरोपमा थुनामा रहेका व्यवसायी प्रदीप रुङ्गटा बिहीबार रिहा भएका छन् । साउन २० गते चितवन जिल्ला अदालतमा हाजिर हुन आएका रुङ्गटालाई पुर्पक्ष लागि थुनामा पठाइएको थियो । अनमोल फिड्सका पूर्व प्रबन्ध सञ्चालकसमेत रहेका शंकर कँडेलले गत वैशाख १९ गते कार्यालयमा नै आत्महत्या गरेपछि उनले लेखेको सुसाइड नोटमा कम्पनीका मुख्य सञ्चालक रुङ्गटाले तनाव दिएको उल्लेख थियो । उच्च अदालत पाटनको हेटौडा इजालासले रुङ्गटालाई रिहा गर्न आदेश दिएको हो ।
कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए । उनको मृत्युसँगै कँडेलका समर्थकहरुले न्यायको लागि भन्दै चितवनका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्नुका साथै चितवन बन्द पनि गरेका थिए ।
साउन १८ गते व्यवसायी शंकर कँडेलको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएसँगै रुङ्गटा बिरामी भएर अदालत परिसरमा नै ढलेका थिए । साउन २४ मा उनलाई अस्पतालले डिस्चार्ज गरेपछि चितवन जिल्ला कारागार चलान गरिएको थियो ।
लेनदेनकै कारण कडेलले आत्महत्या दुरुत्साहन भएको मान्न नसकिने अनमोल फिड्सका चार्टर एकाउन्टेन्ट जीवन रावलको तर्क छ । आत्महत्या दुरुत्साहनको आरोपमा थुनिएको ७१ दिनपछि रावल असार २९ गते धरौटीमा रिहा भएका थिए ।
रावल भन्छन्, ‘घटना भएको आरोपलाई पूर्ण समर्थन गर्दैनन् । नयाँ व्यवस्थापनपछि अनमोल फिड्सले पार्टीहरूलाई दिनुपर्ने ३ करोड २० लाख रुपैयाँ पहिलो चरणमा र ३ करोड बराबरको चेकमार्फत दोस्रो चरणमा भुक्तानी गरिरहेको देखिन्छ ।’
कँडेलले पार्टीहरूलाई तिर्नुपर्ने रकमबापत ५ करोड बराबरको चेकहरू सटही गरिसकेको लेखापाल रावल बताउँछन् । कुनै चेक नसाटिएको भनेर गुनासो आएको थिएन । रुङ्गटाले दिएका अन्य केही चेक साट्न बाँकी नै थियो । कँडेल स्वयम्ले बजारबाट उठ्नुपर्ने रकम उठाउन सघाउने बचन दिएको आरोपित रुङ्गटा पक्षको भनाइ छ । ‘शेयर पुजी करिब १६ करोड पूर्ण रुपमा चुक्ता गरिसकेको थियो । त्यो अवस्था उहाँले आत्महत्यामा हामीलाइ मुछ्न न्यायसंगत हाेइन,’ रावलले भने ।
प्रदीप रुङ्गटा