News

कुटेर दुई कैदीको हत्या गरेको अभियोगमा ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा

कुटेर दुई कैदीको हत्या गरेको अभियोगमा ७ प्रहरी र ८ कैदीविरुद्ध कर्तव्य ज्यान मुद्दा

संखुुवासभा कारागारमा भएको दुई कैदीको हत्या प्रकरणमा ७ जना प्रहरी र ८ जना कैदीविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो।

कारागारमा रहेको सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार र कारागार कर्मचारीसहित केही कैदीको समेत संलग्नता देखिएको भन्दै ज्यान मुद्दा दर्ता गरिएको हो।

गत साउन २४ गते कुटपिटका कारण संखुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।

कारागारको झ्याल काटेर भाग्न खोजेपछि उनीहरुलाई कुटपिट गरिएको थियो। असई लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवलदार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो।

त्यस्तै, कैदीहरू राम कार्की, अनिश शर्मा कट्टेल, सचिन राई, सुमन सारुमगर, टीकाराज चौहान नवीनकुमार राई इन्द्रध्वज घिमिरे, मीनबहादुर तामाङविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

कैदी हत्या प्रकरण प्रत्यक्ष संलग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ। 
 

विशेष