६१ किलो सुन तस्करी प्रकरणमा सुनचाँदी ब्यवसायी संघका अध्यक्ष नै पक्राउ
६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीले सुनचाँदी ब्यवसायी संघका अध्यक्षलाई नै पक्राउ गरेको छ। ती अध्यक्ष बारा जिल्लाबाट पक्राउ परेका हुन।
प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ६१ किलो सुन तस्करीमा संलग्न सुनचाँदी ब्यवसायी संघ बाराका अध्यक्ष शिव कुमार सफर पक्राउ परेका हुन। उनीसहित यो प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।
यो प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल समेत पक्राउ परेका छन्। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेशसँग पनि प्रहरीले बयान लिएर कागज गराई छोडेको छ।