झगडा हुँदा तरवारले विरोधीका औँला काटिदिने युवक पक्राउ
कृष्ण जन्माष्टमीका क्रममा सुर्खेतको वीरेन्द्रनगरमा झगडा हुँदा एक जनाको विपक्षीको औला तरवारले काटिदिएका छन्।
वीरेन्द्रनगर–६ गणेश चोकमा बिहीबार साँझ लाखे जात्रा भइरहेका बेला झगडा हुँदा तरबारले औँला काट्ने वीरेन्द्रनगर–६ खोर्के लाइनका १८ वर्षीय प्रविण नेपालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त प्रकरणपछि फरार भएका उनलाई प्रहरीले रातको समयमा पक्राउ गरेको हो। उनीसहितका युवाहरुले लाखे नाचमा प्रयोग गरेको तरवारले वीरेन्द्रनगर–६ बस्ने १८ वर्षीय पृथ्वीसिंह ठकुरीको हातको औंला काटिदिएका थिए।
ठकुरीको टाउकोमा पनि तरवारले काटेको चोट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ठकुरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ।
घटनामा संलग्न वीरेन्द्रनगर– ६ खोर्के लाइनका १८ वर्षीय शाहीमान पुनमगर र सौरभ मगर फरार रहेको इन्स्पेक्टर कृष्ण खड्काले बताए।